काठमाडौं । कुलेश्वर माध्यमिक विद्यालय, काठमाडौंका प्रधानाध्यापक सानुकान्छा (एसके) नेपालसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। विद्यालयमा अनुपस्थित शिक्षकको नाममा तलबभत्ता निकासा गरी गैरकानुनी लाभ लिएको आरोपमा उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।
अख्तियारका अनुसार प्रधानाध्यापक नेपालले प्राथमिक तहको राहत दरबन्दीमा कार्यरत करार शिक्षक विद्यालयमा अनुपस्थित हुँदा काठमाडौं महानगरपालिकालाई जानकारी नगराई झुटा बिल भरपाई तयार पारेका थिए। उनले २०७९ साल माघदेखि २०८० असारसम्मको तलब भत्ता निकासा गरी १ लाख ५७ हजार ९१५ रुपैयाँ हिनामिना गरेको पाइएको छ।
अनुसन्धानका क्रममा अनुपस्थित शिक्षकको ठाउँमा श्रुति भण्डारी भनिने अम्बिका घिमिरेलाई सट्टा शिक्षकका रूपमा राखिएको खुलेको छ। प्रधानाध्यापक नेपालसँगै सहायक प्रधानाध्यापक शिवहरि घिमिरे, विद्यालय सहायक (लेखापाल) स्मृति रेग्मी र सट्टा शिक्षक अम्बिका घिमिरेसमेत अनियमिततामा संलग्न रहेको अख्तियारको दाबी छ।
सहायक प्रधानाध्यापक घिमिरेले आफ्नै नाता पर्ने अम्बिका घिमिरेलाई प्रधानाध्यापकसँग मिलेर अनुपस्थित शिक्षकका स्थानमा अध्यापन गराएको आरोप छ। लेखापाल स्मृति रेग्मीले झुटा कागजात खडा गरी शिक्षक अनुपस्थित रहेको अवस्थामा पनि तलब निकासा गराएको अख्तियारले जनाएको छ।
सट्टा शिक्षकका रूपमा अध्यापन गरेकी अम्बिका घिमिरेले पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ अनुसार मतियारको भूमिका खेलेको भन्दै प्रधान अभियुक्तहरू सरह सजायको माग गरिएको छ।
चारै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) बमोजिम कैद र जरिवाना सजाय तथा बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामकुमार पौडेलले जानकारी दिए।





