
काठमाडौँ । नेपाली कांग्रेसले खेलकुद नीतिलाई प्राथमिकता दिँदै पार्टी कार्यालय सानेपामा विचार गोष्ठी आयोजना गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले बिहीबार आयोजना गरेको ‘खेलकुद नीति विषयक विचार गोष्ठी’ कार्यक्रमको उद्घाटन पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन्।
उद्घाटन कार्यक्रममा सभापति देउवाले खेलकुदको विकासका लागि कांग्रेसले ठोस नीति ल्याउने बताए। उनले खेलकुदले राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको विकासमा सरकार र राजनीतिक दलहरूले विशेष ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा खेलकुद क्षेत्रका विज्ञ, खेलाडी र सरोकारवालाहरूको सहभागिता रहेको थियो। उनीहरूले खेलकुद नीतिलाई थप प्रभावकारी बनाउन विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए। कांग्रेसले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, खेलाडीहरूको वृत्तिविकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुदको प्रवर्द्धन गर्ने नीति ल्याउने जनाएको छ।