
काठमाडौँ । २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मंगलबारबाट बिदामा बस्ने भएका छन् । कार्यकाल समिन १८ दिन बाँकी छँदा उनी बिदामा बस्न लागेका हुन् ।
यसैबीच गभर्नर अधिकारीले मंगलबारदेखि १० दिनका लागि बरिष्ठ डुपुटी गभर्नर निलम ढुंङ्गाना तिमिल्सिनालाई ‘कार्यवाहक’ जिम्मेवारी तोकेर सोमबार नै पत्र दिइसकेको गभर्नरको सचिवालयले जनाएको छ ।
त्यसो त सामान्यतया गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिना अघि नै सरकारले नयाँ गभर्नर नियुक्त गरिसक्ने र पहिलेको गभर्नर पनि एक महिना अघिबाटै विदामा बस्ने प्रचलन थियो ।
गभर्नरको कार्यकाल सकिनै लाग्दा समेत उत्तराधिकारी नियुक्तिको प्रक्रिया सुरु हुन सकेको छैन । दुई दर्जनभन्दा बढी मानिसहरु उक्त पदका लागि आकांक्षि देखिए पनि अहिलेसम्म सरकारका घटक दलहरुबीच त्यो पदमा कसले आफ्नो पक्षको उमेदवारलाई पठाउँछ भन्ने पनि स्पष्ट छैन ।
यस्तो बेला अर्थमन्त्री र प्रधानमन्त्री पनि नेकपा एमालेबाटै भएका कारण उसैले गभर्नर नियुक्त गर्नसक्ने संभावना ज्यादा रहेको चर्चा छ । तर सत्तारुढ दल नेपाली कांग्रेसले पनि दावी गरेपछि केही विलम्ब हुने संकेत देखिएको छ ।
तर त्यसकालागि अधिकारीको कार्यकाल सकिनै लाग्दा सरकारले नयाँ गभर्नर छनौटका लागि समिति भने गठन गरिसकेको छ ।