देश

नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त,प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

काठमाडौं । नेपाल प्रहरीको ३१औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । यस्तै बैठकले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी वसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो । प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।नवनियुक्त प्रहरी प्रमुख थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिरहेका थिए । तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुख छन् ।

प्रहरी नियमावली, २०१२ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने उल्लेख छ । त्यही कारण प्रहरी प्रमुख बन्नका लागि बढुवाको अन्तिम समयसम्म आकांक्षीहरुबीच राजनीतिक समर्थन जुटाउन दौडधुप चल्ने गर्छ । यसपटक पनि तिनै जना आकांक्षीले अन्तिम समयसम्म आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरेका थिए । यद्यपि, सरकारले पहिलो वरियतामा रहेका थापालाई नै आईजीपी बनाएको छ ।

भक्तपुरको तत्कालीन सिपाडोलका स्थायीवासी थापा प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेशामा संलग्न थिए । उनले आईए पास गर्ने बित्तिकै निजी विद्यालयमा अध्यापन गराउन थालेका थिए । २०४८ सालमा उनले शिक्षा सेवा आयोगको परीक्षा दिए र निमावि शिक्षकमा नाम निकालेका थिए ।

भक्तपुर क्याम्पसमा बीए अन्तिम वर्ष पढ्दैगर्दा उनले कन्या मावि, भक्तपुरमा पढाउन थालिसकेका थिए । पछि १० मंसिर २०५० मा प्रहरी निरीक्षकमा आवेदन खुलेका बेला उनले दर्खास्त दिएका थिए । उनले आईए र बीए दुवैमा भक्तपुर क्याम्पस टप गरेका थिए । २०५० सालमा हालका आईजीपी वसन्त कुँवरले पनि सोही दर्खास्तमा आवेदन दिएका थिए ।

तर, तत्कालीन सरकराले सर्टलिस्टमा परेका पहिलो समूहका ६० जनामध्ये ५२ जनालाई मात्र नियुक्ति दिए । बाँकी रहेका ८ जनाले ६ महिनापछि १९ भदौ २०५२ मा नियुक्ति पत्र बुझ्दा थापालाई कुँवरको बिदाइ गर्ने अवसर मिलेको हो । । ३० वर्षे सेवा अवधि नहटे थापा ६ महिनापछि अवकाशमा जानेछन् । संसद्‌मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उनले थप ६ महिना प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।

प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बिदाइ गरेका छन् ।
आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक कुँवरलाई गृहमन्त्री लेखकले बधाई दिँदै सेवा निवृत्तपछिको जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे ।

सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रका लागि थप काम गर्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्चितता गर्ने प्रहरी सङ्गठन प्रमुखको महत्त्वपूर्ण र गरिमामय पदमा रही मुलुकका लागि पु¥याएको योगदानको प्रशंसा गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पदसम्मको यात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताए ।

आफ्नो कार्यकालको अवधिमा नेपाल प्रहरीको समयानुकूल आधुनिकिकरण, साङ्गठनिक सुदृढीकरण, विकास र स्तरोन्नतिका लागि नेपाल सरकार, गृह मन्त्रालयबाट प्राप्त अभिभावकत्व, हौसला र मार्गनिर्देशनका लागि कृतज्ञता व्यक्त गरे । महानिरीक्षक कुँवर भोलिबाट सेवा निवृत्त हुन लागेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *