काठमाडौँ । नेपाली कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले मुलुकमा प्राप्त उपलब्धि र जनताको जीवनस्तरमा देखिएको सकारात्मक परिवर्तनलाई ढाकछोप गरेर भ्रमको खेती नगर्न प्रतिपक्षीलगायत दलहरूलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछिको अवस्थामा व्यापक परिवर्तन आएको, देश विकास र सुशासन प्रवर्द्धन भई जनतामा आशा र विश्वास जागिरहेको बताए। यस्तो अवस्थामा विभिन्न बहानाबाजीमा देशमा केही पनि भइरहेको छैन भनी जनतामा भ्रम सिर्जना भइरहेको भन्दै उनले यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गरे।
“कुनै विधेयकमा विमति भए, यी कुरालाई यसरी सच्याएर जान सकिन्छ भनेर सुझाव दिने प्रतिपक्षीको धर्म हो, गाँजाखेतीलाई अगाडि बढाउने कानुन निर्माणमा किन आपत्ति, वनसम्बन्धी कानुनले धेरै विकास निर्माणका काम प्रभावित भइरहेका छन् यसबारे कुरा उठाउने प्रतिपक्षीको धर्म हो। तर, मुलुकमा केही भएको छैन। देश बर्बादै हुनलाग्यो भन्नेजस्ता भाष्य निर्माण गरेर जनतालाई झुक्याउने काम गरिनुहुन्न,” उनले भने।
देशको अति जरुरी विषय भनेको पूर्वाधार निर्माण हो भन्दै मुख्य सचेतक घिमिरेले सडक, खानेपानी, खेलकुदलगायतका क्षेत्रको पूर्वाधार निर्माणमा लगानी आवश्यक भएको बताए। उनले निजी क्षेत्रलाई मेडिकल कलेज र इन्जिनियरिङ अध्ययन संस्थान खोल्न नदिइएको र सरकारले मात्रै त्यस्ता संस्थाहरू सञ्चालन गर्न कठिन हुने भन्दै यसतर्फ सबैको ध्यान जानुपर्ने खाँचो औंल्याए। पुँजीगत खर्च बढाएर युवा पलायन रोक्दै देश विकासमा सबै दत्तचित्त भएर लाग्नुपर्नेमा उनले जोड दिए।
मुख्य सचेतक घिमिरेले मुलुकमा १५ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्र्याउनेलाई बेवास्ता गर्न नमिल्ने धारणा राखे। “हिजोका दिनमा जापान, कोरियाजस्ता देशले पनि विदेशमा रोजगारीका लागि नागरिक पठाएका थिए। आज चिनियाँ नागरिक कुन मुलुकमा छैनन्। पर्यटनले १ खर्ब रुपैयाँ पनि विदेशी मुद्रा आर्जन गर्न सकेको छैन। ऊर्जा र सूचना प्रविधिबाट पनि पर्याप्त विदेशी मुद्रा भित्रिन सकेको छैन। तर, यति धेरै विप्रेषण (रेमिट्यान्स) भित्र्याउनेलाई बेवास्ता गर्न मिल्छ?,” उनले प्रश्न गरे।
मुलुक शान्ति प्रक्रियामा आएपछिको १९ वर्षमा नेपाली समाजको परिवर्तन र जनताको जीवनस्तर उकासिएको उनले उल्लेख गरे। “प्रविधिमा मानिसहरूको पहुँच बढेको छ, व्यवस्थामात्रै होइन अवस्थामा पनि परिवर्तन भएको छ। त्यसैले नकारात्मक भाष्य निर्माण नगर्न आग्रह गर्दछु,” उनले भने।




