
काठमाडौँ ।राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेका सिफारिसमध्ये १३.६७ प्रतिशत मात्रै पूर्णरूपमा कार्यान्वयन भएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै अध्यक्ष मगरले आयोगले पीडकलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनका लागि गरेका सिफारिसहरु कार्यान्वयन नहुँदा आयोगप्रतिको आस्था घट्दै गएको बताए।

उनले आयोगका सिफारिस कार्यान्वयनका लागि सरकारले समिति गठन गरेको भए पनि सन्तोषजनक काम नभइरहेको बताए।
उनले भने, ‘हामीले निर्णय गरेर सरकारलाई सिफारिस गरेका उजुरीहरुमाथिको कारबाही सोचनीय अवस्थामा रहेको छ। काम भइरहेको अवस्था छैन। हामीले हेर्दा कार्यान्वयनको अवस्था १३.६७ प्रतिशत मात्रै रहेको छ। यसको लागि मन्त्रिपरिषद्मा समेत समिति गठन भएको छ। तर त्यो समितिले पनि सक्रिय रुपमा काम भएको छैन।’
उनले चालु आर्थिक वर्षको आरम्भदेखि हालसम्म आयोगमा ३१ वटा उजुरी दर्ता गरिएको बताए। आयोगले यस अवधिमा २६ वटा उजुरीका सम्बन्धमा सरकारलाई सिफारिस गरेको तथा ३४ वटा उजुरीहरु तामेलीमा राख्ने तथा खारेजी गर्ने निर्णय गरेको बताए।
उनले आयोगमा अहिले निर्णयको प्रक्रियामा १ हजार १९८ उजुरीहरुको रहेको समेत बताए। गत आर्थिक वर्षमा आयोगले ३६८ वटा उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको उल्लेख गरे।