काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक दुई गते पक्राउ परेर कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर बिहीबार साँझ रिहा भएका पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध बुटवल सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुटवल प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको छ । शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो ।
रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार शुक्रबार सो सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । कास्की प्रहरीमा अनुसन्धान जारी रहेको बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कार्तिक २७ गते बुटवलस्थित सरकारी वकिलको कार्यालयमा उपस्थित भएर लामिछानेले बयान दिएका थिए । प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री हुँदा लामिछानेविरुद्ध सुप्रिम सहकारी ठगी प्रकरणमा वैशाख ३ मा अदालतमा मुद्धा दर्ता भएको थियो । सो अविधिमा एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पहिलो चरणको अनुसन्धानबाटै खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको उल्लेख थियो । ११ फागुन २०७७ मा गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य भएको बेला राई र जोशीको नाममा दुई लाख ५० हजार कित्ता शेयर थियो । ७ पुस २०७८ मा लामिछाने एक लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । सो अवधिमा राईसँग ८० प्रतिशत (१० लाख २० हजार कित्ता) र लामिछानेको नाममा १५ प्रतिशत शेयर रहेको थियो ।
गितेन्द्रबाबु र उनको समूहले काठमाडौं, बुटवल, पोखरा, चितवन, वीरगन्जलगायतका शहरमा सञ्चालन गरेको सहकारीको करोडौं रकम ग्यालेक्सी टीभीमा लगानी देखिएको छ । सो मध्ये दुई करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख थियो । १८ चैत २०७७ मा ऋण स्वीकृत भएको थियो र चार लाख सेवा शुल्क कटाएर एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचरमार्फत जम्मा भएको खुलेको थियो ।
‘संस्थाको बचत सदस्य रवि लामिछानेको नाममा कुनै प्रक्रिया पूरा नगरी ऋण लगानी गरेको’ पहिलो चरणमा अदालतमा दायर अभियोगपत्रमा उल्लेख गरिएको छ । सागर केसी भौचर सदर गरेका थिए भने रोसनी गुरुङले चाँही रकम जम्मा गर्ने कार्य गरेकी थिइन् ।’ सो सहकारीका सहकारीका व्यवस्थापक सागर केसी थिए भने रोशनी लेखा शाखाकी कर्मचारी थिइन् । बिहीबार लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । धरौटी बुझाएर छुटेका रवि शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने जनाइएको छ ।
लामिछानेविरुद्ध काठमाडौं कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि मुद्दा दायर भएको छ । ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा गत आइतबार मुद्दा दायर भएको थियो । लामिछानेमाथि सो सहकारीमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । सो सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटी बुझाएर रिहा भइसकेका छन् । रिहा हुनेमा सहकारीको लेखा समिति सदस्य सुनिता नेवा रसञ्चालक समिति सदस्य कमल लामा रहेका छन् । नेवाले चार लाख र लामाले तीन लाख धरौटी बुझाएर रिहा भएका हुन् ।