अर्थ

सिटिजन्स बैंकको खाताबाट साढे ३ करोड चोरी !

काठमाडौं। एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खाताको साढे तीन करोड रूपैयाँभन्दा बढी रकम चोरी भएको खुलेको छ । सिटिजन्स बैंकको सफ्टवेयर बनाएको एफ वान सफ्टले एफवान सफ्टले नै सिटिजन्स बैंकको दरबारमार्ग स्थित शाखामा खाता खोलेको थियो। उक्त सफ्टवेयर ह्याक गरेर एफ वान सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रुपैयाँ चोरी भएको हो ।

काठमाडौं जिल्ला अदालतमा सो प्रकरणमा २४ जनालाई प्रतिवादीविरुद्ध विद्युतीय ठगीको कसुरमा मुद्दा दायर भएको छ। प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान पुरा गरेपछि मुद्धा दर्ता भएको हो । ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीका अनुसार प्रतिवादी बनाइएका २४ जनामध्ये नौजना पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नेहरूमा ललितपुरको त्रिगुण रत्न बज्रचार्य, सिरहाका राहुल ठाकुर, सिरहाकै पुरुषोतम साह, सप्तरीका कृष्णरमण राउत, सप्तरीकै संजिवकुमार शर्मा, उदयपुरका कमल थापा मगर, उदयपुरकै दीपक थापा मगर, सुनसरीका सन्देश राई र सुनसरीकै सागरकुमार साह छन् । बाँकी १५ जना भने फरार छन् । उनीहरूलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । ह्याक गरिएको रकम उनीहरुको खातामा ट्रान्फर गरेर त्यहाँबाट विदेश लगिएको खुलेको एसपी अवस्थीले बताएका छन् । ह्याकरको समूहले विदेशमा बसेर ह्याक गर्ने र नेपालीहरुलाई प्रयोग गरेर उक्त रकम विभिन्न माध्यबाट विदेश लाने गरेको खुलेको हो ।

अनुसन्धानका क्रममा ह्याकमा युकेको ‘आईपी एड्रेस’ देखिएको साइबर ब्यूरोले जनाएको छ । यद्यपि, ह्याकरको समूहले अन्य ठाउँहरूबाटै ह्याक गरेर ‘आईपी एड्रेस’ फरक ठाउँका राखेको हुनसक्ने आशंका समेत गरिएको प्रहरीको भनाइ छ । सो खातामा जम्मा गरेको २४ जनाको रकम ट्रान्सफर गरेपछि त्यहाँबाट दोस्रो लेअरमा करिब ५ सय जनाको बैंक खाता प्रयोग गरिएको खुलेको छ । विभिन्न लेअरमा बसेर ह्याकरको समूहले नेपालीलाई प्रयोग गरेर रकम बाहिर लगेको भेटिएको छ । १ अक्टोबर २०२४ देखि ४ अक्टोबर २०२४ सम्म पटक –पटक ह्याक गरेर एफ वान सफ्टको खाताको रकम निकालिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *