नेपालको राजनीतिक इतिहासमा एउटा ज्यादै महत्वपूर्ण परिघटना हो वीपीको मेलमिलाप अभियान । तत्कालीन निर्वासनको समयमा देशको गम्भीर अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिलाई हेरेर जननेता वीपी कोइराला लगायत नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ ।
वि.सं २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन सत्ता आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवं तत्कालीन प्रधानमन्त्री वीपी कोइराला लगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाएका थिए । तर, २०२५ कात्तिक १४ गते वीपी कोइराला लगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन भए । त्यसको करिव ८ वर्षपछि वि.सं २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए ।
वीपी कोइरालाले मेलमिलापको नीति लिएसँगै भनेका थिए —‘प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नु पर्दछ । हामीमाथिको यो सम्भावित व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वका सामु नगण्य भन्ठानेर नै हामीले ऐतिहासिक निर्णय लिएका छौं । हामीले विश्लेषण गरेको र सबैले देखेकै कुरा हो । यो जहाज डुब्दै छ । हामी यसलाई बचाउन कुदेर आएका हौं । यदि यो डुब्यो भने सुरक्षाका लागि हाम्रो भाग्ने ठाउँ हुने छैन ।
हामी यसैसँग डुब्ने छौं । यदि अर्को पक्ष हाम्रो विश्लेषण मान्दैन भने एउटा राज्य र राष्ट्रका रूपमा नेपाल नक्साबाट मेटिने छ र यो राष्ट्रिय लोपसँगै हामी देशभक्तहरू पनि बिलाएर जाने छौं ।’ यी भनाईको लक्ष्य र उद्देश्य केवल संटकबाट देश र जनतालाई जोगाउनु, राष्ट्रिय स्वाभिमान र अखण्डतालाई बचाउनु, जनताको सुनौलो भविष्यको सुरक्षित वातावरणको लागि वर्तमानले निर्दिष्ट गरेको परिस्थितिलाई आत्मसात गर्नु हो । वीपीको यसै नीतिले तत्कालीन राजा महेन्द्रले स्वीकार गरे र समग्र मुलुकको परिस्थिति बदलियो । आजको लोकतान्त्रिक व्यवस्था स्थापनाको लागि प्रजातान्त्रिक पद्दतिको सानो सुरुवात भयो । आज ‘राष्ट्रिय मेलमिलाप दिवस’ मनाई रहँदा आजको नेपाली कांग्रेस र समग्र राजनीतिलाई वीपीको मेलमिलापको नीति अझ बढी सान्दर्भिक र महत्वूर्ण बन्दै गएको देखिन्छ ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भ चलिरहँदा आज तीनै वीपी र गणेशमानले त्याग र बलिदानी दिएर स्थापित गरेको नेपाली कांग्रेसको आदर्श धुमिल बनेको छ । सिद्धान्त र व्यवहारगत कार्य प्रणालीहरु निस्तेज बन्दै गएको छ, आन्तरिक एकता र प्रजातान्त्रिक अभ्यास खलबलिएको छ । नेपाली कांग्रेसभित्र महाधिवेशन हुन्छ तर गुट उपगुट अभ्यासमै बाँचिरहन्छ, पहुँच र माथिल्ला नेतासँग आम कार्यकर्ताको मिलन विन्दूको खाडल समथर हुन सकेको छैन । पार्टी एक गुट अनेकको चिरामा कांग्रेस अभ्यस्त देखिन्छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्र र मेलमिलाप कमजोर अवस्थामा पुगेको छ ।
हालै सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेसले विजयी हासिल ग¥यो तर जनभावना अनुसार सरकार गठन गर्न सकेन । सत्ताको नेतृत्व गर्नुपर्ने नेपाली कांग्रेस प्रतिपक्षमा बस्न बाध्य बन्यो । संसदीय दलको निर्वाचन र पार्टी भित्र पदाधिकारीहरु बीचको अन्तर संघर्ष र एकताको कमी हुँदा गठबन्धन जोगिन सकेन । निर्वाचन अघिको गठबन्धन निर्वाचन पछि सरकार गठनका सवालमा विग्रीयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रतिष्पर्धि नेकपा एमालेबीच देखिएको नाटकीय परिवर्तनबाट नयाँ सत्ता समिकर निर्माण भयो । परिणाम स्वरुप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देशको प्रधानमन्त्री भए ।
यो समीकरणबाट नेपाली कांग्रेसका आम कार्यकर्ताहरु निराश बनेका छन् । पार्टीभित्र एक अर्कालाई दोषारोपण चलिरहेको छ । यो परिणामबाट नेपाली कांग्रेसलाई पक्कै पनि घाटा भएको छ । तर सवै परिणामको जिम्मा कांग्रेसले लिनुपर्ने भन्ने होइन । कम्युनिष्ट शक्तिहरु कुनैपनि बेला फरक परिस्थितिमा उभिन सक्ने अस्थिर चरित्रलाई कांग्रेसले अन्देखा गर्नु गल्ति नै हो । तर अब घटना घटीसकेको छ, यसलाई मुल्याङ्कन र समीक्षा गरेर अगाडि बढ्न् बुद्धिमानी हुन्छ ।
कांग्रेसले सत्ता गुमाएको हो शक्ति र अस्तित्व गुमाएको होइन । संसदीय प्रक्रियामा प्रतिपक्षीको भूमिका पनि ज्यादै महत्वपूर्ण हुन्छ । अप्राकृतिक र नाटकीय गठबन्धनको जग कमजोर र स्वार्थपूर्ण देखिन्छ । यसको कुनबेला दुर्घटना र विषम परिस्थितिको सिर्जना गर्दछ र अस्थिरता ल्याउँछ भन्ने ठेगान हुँदैन । त्यस्तो परिस्थितिमा मुलुक र परिस्थिति सम्हाल्ने जिम्मेवारी पनि कांग्रेसले लिनुपर्ने हुन्छ । त्यसैले यो परिस्थितिलाई समीक्षा गरेर अन्तरविरोधलाई समाधान गर्नु मेलमिलाप र एकताको अर्को अवसर सिर्जना हुनेछ ।
नेपाली कांग्रेस देशकै ठूलो लोकतान्त्रिक पार्टी हो । देश र जनताको लोकतन्त्रको रक्षा र पारिपालन गर्ने मूल धर्म नेपाली कांग्रेसकै हो । आज देशमा लोकतन्त्र स्थापना छ तर लोकतन्त्रमा राष्ट्रियता र राष्ट्रिय एकताको राजनीतिक अभ्यासलाई जोगाईराख्ने मुख्य दायित्व नेपाली कांग्रेस कै हो । त्यसैले नेपाली कांग्रेसमा आन्तरिक मेलमिलाप र एकताको बलियो डोरी बाँधीनु आवश्यक छ । त्यसैले आम कांग्रेस नेता तथा कार्यकर्ताले यसलाई वीपीको मेलमिलापको नीति र आजको सन्दर्भबाट अभिप्रेसणा लिनु र मनन् गर्नु पर्दछ ।




