देश

सोमबारे औंशी : गरियो नबोली स्नान

काठमाडौं । सोमबार औंशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औंशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औंशी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ ।

पौष कृष्ण औंशी आज सोमबार परेको हो । सोमबार औंशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औंशी पर्ने गरेको बताउँछन् ।

सोमबारे औंशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए । औंशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औंशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औंशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक सनातनी परम्परा रही आएको छ ।

माता, पिता नहुनेले भने औंशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औंशी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् भट्टराईले बताए । यस अवसरमा विभिन्न तीर्थमा स्नान गर्नेको भीड लागेको जनाइएको छ । आजको सोमबारे औंशी यस वर्षको अन्तिम सोमबारे औँशी भएको ज्योतिषी एवं वास्तुविद् शिवप्रसाद पोखरेलले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *