काठमाडौं । प्रहरीले सहकारी ठगी प्रकरणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माले जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जानकारी दिए । उक्त मुद्दामा प्रहरीका पूर्वडीआईजी छविलाल जोशी लगायत समेत प्रतिवादी छन् ।
प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाएको छ ।
कास्कीको सूर्यदर्शन सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा संलग्न पुष्टि हुने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाएको अनुसन्धान अधिकृतहरु बताउँछन् । रायसहितको अनुसन्धान प्रतिवेदन ६ सय पेज लामो छ । प्रहरीले रवि लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । अहिले पक्राउ परेका ५ जना यसअघि पक्राउ परेका ९ जना र अन्यलाई फरार प्रतिवादी बनाउन राय दिइएको डीएसपी शर्माले जानकारी दिए ।
५१ जनालाई प्रतिवादी बनाए हालसम्म ३७ जना प्रतिवादी फरार छन् । फरार सुचीमा रहेकाहरुको प्रहरीले खोजी कार्य गरिरहेका छन् । सहकारी ठगी प्रकरणमा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ ।
५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गरिएको प्रहरीले जनाएको छ । सोमबार सरकारी वकिल कार्यालयमा पुगेको उक्त प्रतिवेदन अध्ययन पश्चात् जिल्ला अदालत कास्कीमा दर्ता हुनेछ ।




