काठमाडौं । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो।
प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय भेटवार्ताका क्रममा उक्त फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेपनि भोलिपल्ट भने हस्ताक्षर भएको हो ।
हिजो मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिचको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारी–पत्रमा हस्ताक्षर भएको थियो । त्यसमा बीआरआई उल्लेख थिएन । तर नेपाल र चीनबिचको संयुक्त १२ बुँदे वक्तव्यमा भने बेल्ट एण्ड रोड सहकार्यको रूपरेखा निर्माण गर्न सकेसम्म चाँडो एमओयूमा हस्ताक्षर गरिने उल्लेख थियो ।
फ्रेमवर्कको भाषामा अनुदान (ग्रान्ट) को स्थानमा सहायता (एड) शब्द राखेर सहमति भएको बुझिएको छ । सहायता अन्तर्गत चीनले विभिन्न देशलाई दिँदै आएको सहुलियतपूर्ण ऋण नेपालले पनि पाउने सक्ने छलफलमा उल्लेख छ । यद्यपि यसको पूर्ण विवरण भने आइसकेको छैन ।
बीआरआईमा नेपालले चीनसँग ऋण भन्दापनि अनुदानमा पहल गर्ने कांग्रेस र एमालेबीच समझदारी भएको थियो।