खेलकुद

सुदूरपश्चिम रोयल्सको विजयी सुरुवात, विराटनगरको दोस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको छ ।

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा समेटिएको हो ।

विराटनगरका लागि बसिर अहमदले २४, राजेश पुलामी मगरले १५ र अनिल खरेलले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइन र अभिनास बोहराले ३–३ विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ बनाइको थियो ।

प्रतियोगितामा अहिलेसम्मको उच्च योगफलमा पुर्याउन सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । २४ बलको सामना गरेका उनले ५ छक्का र ३ चौकाको मद्दतमा ५७ रनको अर्धशतकीय पारी खेले । इनिङको अन्तिम ओभरमा दीपेन्द्रले प्रतिश जिसीलाई ३ छक्का प्रहार गरेका थिए ।

सुदरपश्चिमका ब्रान्डन म्याकमुलनले २६ बलमा ३६ रन बनाए । यस्तै इशान पाण्डेले १६ बलमा २१ रन जोडे । बिराटनगरका स्पिनर अनिल खरेलले ४ ओभरमा २६ रन खर्चेर तीन विकेट लिएका थिए । यस्तै, बसिर अहमद क्रिस सोल र इस्मत आलमले १–१ विकेट बाँडे । प्रतिश र कप्तान सन्दीप लामिछाने विकेटविहिन रहे । विराटनगरको यो लगातार दोस्रो हार हो ।

जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् ।

मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरविरुद्धको खेलमा ऐरीले २३ बलमै अर्धशतक पूरा गरेका हुन् । उनी २४ बलमा ५७ रन जोडेर नटआउट रहे । ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिम विराटनगरसामु १ सय ८३ रनको चुनौती खडा गर्न सफल रह्यो ।

दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेटको इतिहासमा सर्वाधिक ९ बलमा अर्धसतक बनाउने खेलाडी पनि हुन् । उनले नेपालबाट ५५ ओडीआई र ६७ टीट्वेन्टी खेलेका छन् । २४ वर्षे दीपेन्द्र अलराउण्डतर्फ विश्व क्रिकेट वरियतामा दोस्रो स्थानमा छन् ।

जारी एनपीएलमा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बनेका थिए । उनले ३५ बलमा ५२ रन जोडेका थिए । अनिलको रेकर्ड दोस्रो दिनमै दीपेन्द्रले तोडेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *