देश

उपनिर्वाचन : मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचन सकिएको छ । विहान ७ बजेदेखी सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको हो । देशभरका रिक्त ४१ स्थानीय तहमा आइतबार उपनिर्वाचन भएको थियो ।

नगरपालिका प्रमुख एक,उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई,उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा दुई लाख २६ हजार सात सय ९९ मतदातामध्ये ६२ प्रतिशत मतदाताको मत खसेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालले बताइन् । ‘अहिलेसम्म करिब ६२ प्रतिशत मत खेसेको छ । यद्यपि डाटा(तथ्याङ्क) आउने क्रममा छ । थपघट हुनसक्छ,’उनले भनिन् । उनका अनुसार शान्तीपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको छ ।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकिएका थिए ।

यसअघि जिल्ला समन्वय समिति ओलखढुंगा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

आजै रातिदेखि मतगणना सुरु गर्ने आयोगको तयारी छ । उपनिर्वाचनको मतपरिणाम दुई दिनभित्र सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *