
काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रालयका केही उच्च कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन्। उनले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य समूहका दशौँ र एघारौँ तहका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन्।
शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा भएका डा। अनुप बाँस्तोला मन्त्रालय ल्याइएका छन्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चारकेन्द्रमा उपेन्द्र ढुंगाना पठाइएका छन्। त्यस केन्द्रको जिम्मेवारीमा रहेका डा. भक्त केसीलाई मन्त्रालयअन्तर्गतको समन्वय महाशाखामा ल्याइएको छ ।
गेटा अस्पतालको नेतृत्वमा रहेका डा. विप्लव सापकोटालाई फिर्ता बोलाइएको छ। उनका ठाउँमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा. अशोक श्रीपाइलीलाई पठाइएको छ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र सिंहदबार वैद्यखाना दुवैको जिम्मेवारी समालेका डा .प्रदीप केसीलाई वैद्यखानामै केन्द्रित हुने गरी जिम्मेवारी तोकिएको छ। विभागको महानिर्देशकका हालसम्म कसैलाई जिम्मेवारी नतोकिएको मन्त्रालयले जनाएको छ।