काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै जनही तीन लाखका दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्। बिहीबार प्रधानमन्त्री निवास, बालुवाटारमा राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् । खेलमा दोस्रो भएकाले नेपाली टोलीका खेलाडीले जनही तीन लाखका दरले पुरस्कार पाउनेछन् ।
विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको समेत बताए । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टोलीको बङ्गलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गर्दै आगामी सातौँ संस्करणमा हामी जित्छौँ भन्ने मर्मका साथ लाग्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले खेलाडीहरुको मनोबल बढाउनका लागि तेञ्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौँ पटकमा सर्वोच्च शिखर सगरमाथा पुग्न सफल भएको बताए । खेलाडीहरुले उत्साह बढाएर आगामी खेलमा जित हासिल गर्ने गरी खेल्न उनले उत्प्रेरणा दिए । प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रंगशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी गराए। उक्त अवसरमा खेलाडीहरुले खेल सकिएको भोलिपल्टै खेलमाथिको प्रतिक्रियासहित आगामी दिनमा पूर्वाधार विकासका प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकोमा खुसी व्यक्त गरेका थिए ।




