काठमाडौं । फाइनलमा नेपाललाई २–१ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बङ्लादेशले जितेको छ । बङ्लादेशले लगातार दोस्रो पटक साफको उपाधि जितेको हो ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बङ्लादेशलाई जित दिलाउन मोनिका चक्मा र रितु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालले धेरै मौका गुमायो ।
खेलको ५२औं मिनेटमा मोनिका चक्माले गोल गर्दै बङ्लादेशलाई अग्रतामा राखेकी थिइन् । मोनिकाले एक गोल गरेकी थिईन् ।तर नेपालले चार मिनेटमै गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी हुन् । प्रीति राईले निकालेको थ्रु बललाई नियन्त्रणमा लिदै अमिशाले सहजै गोल गरिन् ।
८१औं मिनेटमा रितु पोर्ना चक्माले गोल गर्दै बङ्लादेशलाई २–१ को अग्रतामा राखिन् । करिब २५ यार्ड परबाट रितुले उत्कृष्ट गोल गरेकी हुन् । यहि गोल निर्णायक बन्दा बङ्लादेश च्याम्पियन बनेको हो ।
यसअघि सन् २०२२ को संस्करणमा नेपाललाई बाङ्लादेशले ३–१ ले हराएको थियो ।
नेपाली महिला टिमले हारेको यो १२औं फाइनल हो । साफम मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौं पटक हो ।




