काठमाडौं । गण्डकी प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
सार्वजनिक सम्पति विवरणअनुसार अधिकांश मन्त्री पैतृक तथा व्यक्तिगत कमाइबाट धनी देखिएका छन् । लामो समयपछि गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नेपर्ने गरी आचारसंहिता जारी गरेको थियो । पछिल्लो पटक जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारका ९ जना नै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने २ दिनअघि बसेको मन्त्रीपरिषदले निर्णय गरेको थियो ।
गण्डकीका मुख्यमन्त्रीसहित प्राय सबै मन्त्री धनी देखिएका छन् । ती मन्त्रीमध्ये पनि सबैभन्दा धनी व्यवसायी पृष्ठभूमिबाट आएका विन्दुकुमार थापा, प्रकाशबहादुर अधिकारी र भेषबहादुर पौडेल छन् । उनीहरुको ठाउँ–ठाउँमा प्रशस्त घरजग्गा र सुनचाँदी छ । यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग पैतृक सम्पत्ति धेरै देखिएको छ । गोरखा, काठमाडौं, कपिलवस्तु र भक्तपुरमा पैतृक घरजग्गा रहेको उनले उल्लेख गरेका छन् ।
पाण्डेको नाममा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ मा ४ कित्तामा जग्गा छ भने कपिलवस्तुमा २ कित्ता र भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५ कित्तामा मोहीबाट कमोद भएको संगोलको जग्गा रहेको मुख्यमन्त्री पाण्ले जनाएका छन् । मुख्यमन्त्री पाण्डेसँग यसअघि बुझाएको सम्पति विवरण अनुसार ४२ तोला सुन, ५ सय तोला चाँदी थियो । अहिले त्यसमा ३ तोला सुन र २ सय तोला चाँदी बढेको उनको सम्पत्ति विवरणबाट खुल्छ । उनीसँग २ सेट हिरा र १ सेट मोती पनि छन् ।
व्यवसाय, तलब र जग्गा बिक्रीबाट एभरेस्ट बैंकमा २७ लाख ७४ हजार मौज्दात रहेको मुख्यमन्त्री पाण्डेले खुलाएका छन् । यसअघि उनले त्यहाँ २४ लाख ९६ हजार रहेको थियो ।
मुख्यमन्त्री पाण्डेकी पत्नी विना पाण्डेको नाममा प्रभु बैंकमा ६७ लाख रुपैयाँ तलब तथा उपदानमार्फत नगद जम्मा गरेको । यसअघि यो शीर्षकमा ६० लाख रुपैयाँ रहेको थियो । यस्तै छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैंकमा ४ लाख ७८ हजार बैंक मौज्दात छ । यसअघि उनले छोरा सुयोग्गराजको नाममा बैंकमा १ लाख ५६ हजार मौज्दात देखाएका थिए ।
मुख्यमन्त्री पाण्डेको दियालो फुडल्याण्ड प्रालिमा ६१ हजार १ सय, बैंक तथा वित्तीय संस्थामा ५ हजार कित्ता शेयर रहेको र श्रीमती विनाका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ५ हजार, छोरा सुयोग्यको नाममा ४ हजार कित्ता शेयर रहेको विवरणमा खुलाएका छन् ।
मुख्यमन्त्री पाण्डेसँग श्रीमतीको नाममा एउटा मारुती बलेरो कार छ । त्यसको खरिद मूल्य पाण्डेले जम्मा ३२ हजारमात्र देखाएका छन् । पाण्डेले आफूसँग टिभी २ वटा, फ्रिज २ वटा, वासिङ मेसिन, माइक्रोओभन, किचनसहित पूर्ण फर्निसिङ घर रहेको उल्लेख गरेका छन् । यस्तै गण्डकीका मन्त्रीहरुमध्ये सबैभन्दा धनी सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापा नै छन् । व्यापारिक पृष्ठभूमिबाट आएका थापाको श्रीमती, छोरा र कम्पनीको नाममा प्रशस्त घरजग्गा र शेयर छ ।
मन्त्रीको थापाको श्रीमती मनलक्ष्मी थापाको नाममा मात्र अर्बौं पर्ने घरजग्गा १९ ठाउँमा छ । थापाकै अर्की श्रीमती राधा थापा क्षेत्रीको नाममा १३ ठाउँमा घरजग्गा छ । छोरा सौगातका नाममा १० ठाउँमा शेयर र विभिन्न सम्पत्ति छ भने थापाको विभिन्न कम्पनि, होटल, रिसोर्ट, अटोमा लगानी छ । थापाले पोखरा महानगरपालिकाका ८, ९, १७, २८, २९, ६ नम्बर वडामा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
विन्दुकुमारको नाममा नयाँ बजारमा भव्य ३ घर छन् । पोखरामा ३ वटा होटल तथा रिसोर्ट र २ वटा ब्यापारिक भवन छन् । उनले पोखरामा पोखरा बुटिक होटल प्रालि, बगैंचा रिसोर्ट र रोयल हिमालयन रिसोर्ट प्रालि सञ्चालन गरेका छन् । त्यस्तै सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर प्रालिलगायतका व्यापारिक भवन पनि छन् । पोखराकै ठूलो मल मध्यमा पर्ने पोखरा ट्रेड मलको मुख्य लगानीकर्ता पनि उनै हुन् ।
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका थापाले विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन् । मेगा बैंकसँग मर्ज हुनु पहिले थापा पोखराको विश्व विकास बैंकका अध्यक्षसमेत थिए । थापा मेगा बैंकको संस्थापक शेयर धनी पनि हुन् ।
थापासँग अघिल्लो कार्यकालमा भन्दा सुनको मात्रा पनि बढेको छ । अघिल्लो कार्यकालमा कानुनमन्त्री हुँदा उनीसँग ९० तोला सुन रहेकोमा अहिले १६० तोला पुगेको छ । ७५० तोला चाँदी र २० तोला हिरा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
थापासँग २ करोड, १ करोड १२ लाख र १ करोड १६ लाख रुपैयाँका ३ वटा विभिन्न कम्पनीका गाडी छन् । थापाको लुम्विनी विकास बैंकमा ५६ लाख र एनएमबी बैंकमा ६ करोड ६३ लाखको शेयर छ ।
थापाले मेगा बैंकको ४ लाख, ६८ हजार ५६ कित्ता, सेन्चुरी कमर्सियल बैंकको ९१ हजार ३ सय ६७ र सिद्धार्थ बैंकको ४३ हजार ७ सय ७८ कित्ता सेयर अघिल्लो सम्पत्तिमा खुलाएका थिए । यसपटकको सम्पत्ति विवरणमा भने त्यो शेयरबारे उल्लेख छैन ।
थापाले एनएमबी बैंकमा १२ करोड ३१ लख, ग्रिन डेभलपमेन्ट बैंकमा १२ करोड ५० लाख, पोखरा फाइनान्समा ८५ करोड, मनोहरजंग राणाबाट ९४ लाख ९५ हजार, अनिता थापाबाट ५५ लाख र ३० लाख रुपैयाँ ऋण लिएको खुलाएका छन् ।




