
काठमाडौं । गृह मन्त्रालयले मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई सकुशल उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए । सैनिक, सशस्त्र, प्रहरी तथा स्वयंसेवकहरूबाट बिहीबार बिहानसम्म प्रभावितहरूको उद्धार गरेका हुन् ।
गृहमन्त्रालयका अनुसार मनसुनजन्य विपद्मा परेका २२ जना अझै बेपत्ता छन् । बाढी र पहिरोबाट घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरूमा निःशुल्क उपचार भइरहेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकाबाट २ हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेस प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बाग्मती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ ।
‘ नेपाली सेनाको हेलिकप्टरबाट प्रभावित जिल्लाबाट पनि बिरामी, घाइते, बालबालिका, जेष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखेर उद्धार गरिएको सहसचिव तिवारीले बताए । ‘खोज तथा उद्धारको काम अन्तिम चरणमा पुग्नुका साथै बेपत्ताको खोजी तीव्र रूपमा भइरहेको उनको भनाइ छ ।
गृहमन्त्री रमेश लेखकले खोज, उद्धार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाला निकाय एवं मन्त्रालयसित समन्वय गरिरहेको उनको सचिवालयले जनाएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपदमा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बापत राहत रकम उपलब्ध गराउन थालिएको छ । घर भत्किएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको छ ।
सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी गृह मन्त्रालयले प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपदमा परेका नागरिकहरूको सहजीकरणका लागि कार्यदल परिचालन गरिएको छ । कार्यदललाई प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण, मानवीय र भौतिक क्षेत्रको संक्षिप्त विवरण तयारी गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने लगायतका कार्यादेश दिइएको छ ।