देश

बाढी–पहिरो अपडेट : कहाँ के भयाे ?

काठमाडौं । गत शुक्रबार र शनिबार देशभर परेको अविरल वर्षाका कारण देशले ठूलो क्षति बेहोर्नु परेको छ । वर्षाका कारण भौतिक तथा मानवीय क्षेति भएको छ । नेपालीहरुको महान चाड दशैँ , तिहार तथा छट पर्वलगायतका चाडपर्व नजिकिएसँगै भारी वर्षाका कारण विभिन्न ठाउँमा सडक बिग्रिएकाले काठमाडौंबाट बाह्य जिल्ला जाने नागरिकहरु परिवारसँग दशैँ मनाउन जान सकिने हो वा नसकिने हो भनेर चिन्तामा छन् ।

यस्तै बाढी पहिरोबाट ज्यान गुमाउने परिवारहरु पनि शोकमा परेका छन् । सरकारले बाढीपहिरो र प्राकृतिक विपत्तिबाट अलपक्र परेकाहरुलाई उद्धार र व्यवस्थापनको वातावरण छिट्टै मिलाउने तयारीका साथ छलफललाई तिव्रता दिएको छ । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छ । वर्षाका कारण अवरुद्ध सडक खण्ड अझै संचालनमा आउन सकेका छैनन् ।

केही राजमार्ग भने केहीमात्रमा संचालनमा आएका छन् । पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्यपहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध अवस्थामा रहेको प्रहरीले जनाएको छ । शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ। नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन्। ३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ।

काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन्। काभ्रे जिल्ला भरिमा ३१ जनाको ज्यान गएको छ। ललितपुरमा २३ जनाको मृत्यु भएको छ।बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाण्डौं उपत्यकामा ६८, बागम्ती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् भने सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको १९३ जनाको सकुशल गरिएको छ । नेपाली सेनाको टोली बढी जोखिममा फसेका नागरिकहरुको उद्दारका लागि दुई दिनदेखि हवाई उद्दार गरिरहेको छ ।

विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक सुचारु गर्न सबै संयन्त्रहरु परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । प्रभावित क्षेत्रमा नागरिकको उद्दार, राहत तथा घाइतेहरुको उपचारका लागि अस्पताल पुर्याउने लगायतका कार्यमा सुरक्षाकर्मीहरु सक्रिय भएर लागि परेका छन् । यस्तै झरीपछि बाढीपहिरोका कारण देशभर ११ सय मेगावाट विद्युत अवरुद्ध भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अविरल बर्षाका कारण ११ सय मेगावाट विद्युत अवरुद्धसँगै साढे २ अर्ब बराबर नोक्सानीको अनुमान गरेको जनाएको छ । मन्त्रालयमा अनुसार अझै यो क्षति बढ्न सक्नेछ ।

यस्तै सिँचाइतर्फका आयोजनामा १ अर्ब ३५ करोडको क्षति भएको छ । गत वर्ष अविरल वर्षाका कारण १० अर्बको क्षति भएको मन्त्रालयको भनाइ छ । ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० का अनुसार विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । हाल ती आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आंकलन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *