कैलाली । सत्तारुढ नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएकी छिन् । धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राणाले केही दिनअघि प्रधानमन्त्री ओलीले देशले महिला प्रधानमन्त्री पाउने छ भन्ने अभिव्यक्तिप्रति धन्यवाद दिएकी हुन् ।
उनले अबको प्रधानमन्त्रीमा तपाईंको चर्चा छ नि भन्ने पत्रकारहरूको जिज्ञासामा परराष्ट्रमन्त्री राणाले महिला प्रधानमन्त्रीको चर्चा चल्नु स्वभाविक भएको र सो आवाज प्रधानमन्त्री ओलीले उठाएकोमा धन्यवाद दिइन् । ‘कांग्रेस अनुशासनमा बस्ने पाटी हो । प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नु पर्छ,’ मन्त्री राणाले भनिन्, ‘संसदीय दलको नेता सभापति शेरबहादुर देउवा हुनुहुन्छ, दुई दलीय सहमति अनुसार उहाँ नै भावी प्रधानमन्त्री बन्नु हुन्छ ।’
बाहिरको चर्चा चस्तो आफू अहिल्यै नै प्रधानमन्त्री बन्ने सम्भावना कम रहेको बताउँदै परराष्ट्रमन्त्री राणाले भनिन्, ‘प्रधानमन्त्रीमा उहाँकै पार्टीका महिला बन्नुहोला, महिला प्रधानमन्त्री बन्ने विषयमा भने म खुशी छु । प्रधानमन्त्री ओलीजीले आवाज उठाई दिनु भो फेरि पनि धन्यवाद छ ।’
देशमा झुटा राजनीतिक कुसंस्कार हावी हुँदै गएको, वेथिति बढेकाले उपलब्धिको रक्षा गर्न वर्तमान गठबन्धन ८४ सम्म निरन्तर रहने समेत उनले बताइन् । ‘दुई ठूला दल मिल्दा जनताको हित अनुसार काम गर्न सरकार सक्रिय रहेको छ’ वर्तमान गठबन्धन बनेकै कारण सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि विधेयक संसदमा पास भएको छ ।’
मन्त्री राणाले कांग्रेस र एमाले देशमा संकट पर्दा पटक–पटक मिलेर समाधान गरेको इतिहास साक्षी रहेको बताइन् ।आफू भारत भ्रमणका बेला देश विकासको लागि भारत सरकारसँग महत्वपूर्ण छलफल भएको बताउँदै उनले भनिन्, ‘गौरीफन्टालाई अन्तर्राष्ट्रिय नाका बनाउने र महाकाली नदीमा पुल तथा झोलुङ्गे पुल बनाउने कुरामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक हुनुहुन्छ ।’




