छिमेकी देश बंगलादेशमा हालै विद्यार्थी विद्रोहले सत्ता परिवर्तन भएको छ तर संसदीय सर्वोच्चता रहेको प्रजातान्त्रिक संसदीय व्यवस्था परिवर्तन भएको हैन । अबामी लिगकी नेतृ शेख हसिना बाजेद आम निर्वाचनमार्फत् नै १५वर्षदेखि अनवरत प्रधानमन्त्रीको रुपमा शासन गरिरहेकी थिइन् । त्यो भन्दा पहिले पनि उनी ५वर्ष प्रधानमन्त्रीको रुपमा कार्यरत थिइन् ।
जम्माजम्मी उनको प्रधानमन्त्रित्व २० वर्षको रह्यो । सन् २०२४को जनवरीमा भएको आम निर्वाचनमा अबामी लिगका अत्यधिक सांसदहरुले जितेका थिए र एकप्रकारले सत्ता अकण्टक नै देखिएको थियो तर विद्यार्थीहरुको विद्रोहलाई जनताले साथ दिए र जनताले त्यो सरकारलाई यसरी विस्थापित गरे कि अहिले त्यति शक्तिशाली प्रधानमन्त्री भागेर भारतको शरणमा बस्नु परेको छ र विश्वका कतिपय देशहरु, नेपालसमेत अब के हुँदैछ भनेर पर्ख र हेर भन्ने अवस्थामा देखिएका छन् ।
यसैबिच ८ अगस्ट २०२४मा नै भंग गरिएको संसदको छिटै निर्वाचन गर्न र बाङ्लादेशमा तत्कालै निर्वाचित सरकार स्थापित गर्न निर्वाचनका लागि भनेर नोबेल शान्ति पुरस्कार प्राप्त महान अर्थशास्त्री प्राध्यापक डाक्टर मुहम्मद युनुसको नेतृत्वमा १७ सदस्यीय चुनाब प्रयोजनका लागि कामचलाउ अन्तरिम सरकार बनेको छ जसमा आन्दोलनकारी विद्यार्थी नेताहरु, पूर्व प्रशासक, अर्थशास्त्री, पूर्व सैनिक पदाधिकारी र अल्पसंख्यक चकमा, विदुषी महिलाहरु र हिन्दूहरुको समेत प्रतिनिधित्व गराई समावेशी अन्तरिम सरकारको गठन भएको छ ।
काम चलाउ सरकारका प्रमुख युनुसले सर्वप्रथम शान्ति बहाली गर्न सबैमा आह्वान गरेका छन् र आफ्नो प्रयास पनि मुलुकलाई सबैको साझा बनाउने बताएका छन् । स्मरणीय रहोस्, यी तिनै अर्थशास्त्री हुन् जसले ग्रामीण विकास बंैकको परिकल्पना गरेर संसारमा सानो सानो ऋण लगानीबाट पनि जनतामा रहेको गरिबी हटाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरे र त्यसैका लागि सन् २००६मा नोबेल शान्ति पुरस्कार पाएका थिए । आन्दोलनकारी विद्यार्थीहरुले पनि सेनाको नेतृत्वमा सरकार चाहेनन् र गैर सैनिक तर विश्व प्रसिद्ध व्यक्ति मुहम्मद युनुसको नेतृत्वमा सरकार हुनुपर्छ भन्ने माग राखे जसलाई सेनाले मान्यो र राष्ट्रपति मोहम्मद शाहबुद्दिनले त्यही अनुसारको आदेश जारी गरे । पेरिस प्रवासमा रहेका ८४वर्षीय युनुस युवाहरुको आह्वानमा नै मुलुक फर्केका हुन् र अन्तरिम सरकारको बागडोर समालेका हुन् ।
केही समय पहिले श्रीलङ्कामा भएको र अहिले बाङ्लादेशमा भएको जन विद्रोहले दक्षिण एसियामा नै नयाँ राजनीतिक यस्तो जागरण देखिएको छ कि जनता जागेपछि सत्तामा रहनेहरुको तर्क कुतर्कले मात्र र संसदमा वहुमत छ भनेर मात्र हुँदैन, समयमा जनताका पक्षमा सरकार उभिएन भने र जनताले आफूलाई अपमानित भएको महसुस गरे भने जस्तोसुकै सरकारलाई पनि पदच्युत गर्न सक्छन् भन्ने देखाएको छ । त्यस्तोमा आन्दोलनले गलत बाटो समातेर प्राप्त प्रजातन्त्र गुमेको पनि पाएका छौँ तर बाङ्लादेशमा विद्यार्थीहरुको नेतृत्वले युनुसजस्ता परिपक्व विद्वानको नेतृत्व खोज्यो र अन्तरिम सरकारमा सेनाको प्रतिनिधित्वमात्र मान्यो तर सेनाको नेतृत्व अस्वीकार ग¥यो ।
हामी नेपालीको चाहना हो —बाङ्लादेशमा तत्कालै शान्ति कायम होस्, अल्पसंख्यक हिन्दूमाथि गरिएको भनिएको प्रताडनाको अन्त्य होस्, मठ मन्दिरहरुमा तोडफोड नहोस्, हिन्दूहरुको घरमा पसेर लुटपाट, हत्या हिँसा गर्ने अपराधीले दण्ड पाऊन् र दण्डहीनताको अवस्थामा देश नफसोस् । नयाँ सरकारले छिटै निर्वाचन गराएर जनताले छानेका प्रतिनिधिहरुले नयाँ प्रजातान्त्रिक सरकार बनाऊन् र शेख हसिनाले सुरु गरेको आर्थिक विकासको कार्यले निरन्तरता पाओस्, हामीले त्यही कामना गर्ने हो । त्यहाँको अवस्था सामान्य हुनु भनेको कतिपय नेपाली विद्यार्थीहरुको स्वास्थ्य शिक्षाको गन्तव्य रहेको बाङ्लादेशका उनीहरुको शिक्षा निरापदरुपमा अगाडि बढ्न सकोस् भन्ने पनि हो ।
आरक्षण विरुद्धमा सुरु भएको आन्दोलनले छोटो अवधिमा नै देखिएको यस प्रकारको जन विद्रोहले विश्वका अन्य निर्वाचित प्रजातान्त्रिक सरकारहरुलाई पनि पाठ सिकाएको छ, जन भावनाको कदर बेलैमा गर्नुपर्छ , वास्ता नगरी बस्दा त्यसले विकराल रुप लिन समय लाग्दैन र राज्य व्यवस्था टिक्दैन, जनताको हितका लागि राज्यको सरकार हो, जन हित भएको नभएको मूल्यांकन गरिरहनु पर्छ ।
करिब २० वर्ष अकण्टक अबामी लिगकी नेतृ भएर अनवरत १५ वर्ष प्रधानमन्त्री रहेकी शेख हसिनालाई विश्वका कतिपय देशहरुले शरण दिन पनि मानेका छैनन् र उनको व्यक्तिगत प्रयासमा भारतमा हालसम्म निर्वासनमा रहेकी छिन् । गरिब देशबाट विकसोन्मुख देशमा परिवर्तन गराउने नेता, पाँच पाँच पटक प्रधानमन्त्री बनेकी नेताको सत्ता बालुवाको घर भत्किएजस्तै भत्कँदो रहेछ र भागेर विदेशमा शरण लिनु पर्ने अवस्था केही छिनमा नै उत्पन्न हुँदो रहेछ भन्ने पाठ यस ढाका विद्रोहले सिकाएको छ ।
यसको पछिल्तिर जजसको हात भनेर भने पनि सत्तामा बस्नेहरुले त्यसको समाधान गर्ने हो र जनताको मनोभावना अनुसार सत्ता सञ्चालन गर्ने हो । वहुमत भयो भनेर या सत्तामा छौँ भनेर भोलिको बाटो नहेरी जथाभावी गर्नेहरुका लागि पनि यो एउटा गतिलो पाठ हो । शीघ्रातिशीघ्र बाङ्लादेशमा शान्ति कायम होस्, निष्पक्ष निर्वाचन होस् , जनताका प्रतिनिधिहरुले शासन सञ्चालन गर्ने अवसर तत्काल प्राप्त गरुन् र प्रजातान्त्रिक व्यवस्थामा मात्र जनताका समस्याहरु समाधान गर्न सकिन्छ भन्ने बाङ्लादेशले फेरि देखाउन सकोस् ।




