काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह पुनः नियुक्त भएका छन् । आइतबार बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् । राजनीतिक समिकरण परिर्तन भएपछि शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
पहिलोपटक २६ माघ २०७९ मा शाह मुख्यमन्त्री बनेका थिए । पुनः राजनीतिक समिकरण परिवर्तन भएसँगै शाहले चैत २२ गते पदबाट राजीनामा दिएका थिए । असार १७ गते कांग्रेसर एमालेको गठबन्धन बनेपछि सोडारी मन्त्रिपरिषदबाट एमाले बाहिरिएसँगै अल्पमतमा परेका सोडारीले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए ।
शाह सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री बनेका हुन् । प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भएका थिए । २०७९ मंसिरको निर्वाचनबाट गठन भएको प्रदेशसभामा पहिले एमालेका राजेन्द्र रावल, कांग्रेसका कमलबहादुर शाह र एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बनेका थिए ।
प्रचण्डले सत्ताकेन्द्रित राजनीति गरेपछि प्रदेश सरकार बारम्बार भत्किने भएको थियो । जसका कारण राजनीति वृतमा नै असन्तुलन पैदा भएको थियो । पूर्वप्रधानमन्त्री प्रचण्ड नेतृतवको सरकारले राजनीतिक अस्थिरता निम्त्याएपछि दिर्घकालीन समस्या समाधान र राजनैतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार गठन भएको हो । १७ असारमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि सोडारी मन्त्रिपरिषदबाट एमाले बाहिरिएको थियो ।

कुन प्रदेशमा कसको सरकार ?
केन्द्रमा जुटेको सहमति अनुसार ७ मध्ये एमाले र कांग्रेसले समान ३ प्रदेशको सरकारको नेतृत्व लिनेछन् भने मधेशमा जनमत पार्टीको सरकार रहनेछ ।
केन्द्रमा जुटेको समझदारी अनुसार कोशी, लुम्बिनी र कर्णालीको मुख्यमन्त्री एमालेको भागमा परेको छ । कोशीमा हिक्मत कार्की, लुम्बिनीमा चेतनारायण आचार्य र कर्णालीमा यामलाल कँडेल मुख्यमन्त्री बनेका छन् । कोशी बाहेक प्रदेश सरकारमा कांग्रेस सहभागी भईसकेको छ । कोशीमा पनि मन्त्रालय भागबन्डा टुंगिसकेको छ । कांग्रेसले मन्त्री छनोट गर्न नसक्दा सरकार पुनर्गठनमा ढिलाइ भएको छ । सोमबारसम्म कोशी सरकार पुनर्गठन हुने नेताहरुको भनाइ छ । कोशीमा कांग्रेसले ४ मन्त्री र २ राज्यमन्त्री लिने समझदारी बनेको छ ।
मधेशमा जनमतको सरकार मधेशमा हाल जनमत पार्टीका सतिसकुमार सिंहको नेतृत्वमा सरकार छ । सोही सरकारमा कांग्रेस र एमाले सामेल भएका छ् । दुवै दलले समान ४ मन्त्रालय पाएका छन् । मधेशमा कांग्रेस, एमाले, जनमत र लोसपाको संयुक्त सरकार छ । बागमतीमा कांग्रेस बागमती प्रदेशको नेतृत्व कांग्रेसले लिएको छ र दुई दलको सुविधाजनक बहुमत रहेको प्रदेशमा एमालेका ५ र कांग्रेसका ७ गरि १२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । २० महिनापछि बागमतीमा एमालेका जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने समझदारी दुई दलबीच भएको छ ।
गण्डकीमा भागबन्डा मिलाउनै सकस अन्य प्रदेश सरकार पुनर्गठन भइसक्दापनि गण्डकीमा भने कुनैपनि सुरसार भएको छैन् । ८ सदस्यीय प्रदेश सरकारमा हशाल मुख्यमन्त्रीसहित ५ सदस्यीय क्याबिनेट छ । गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार छ । सोही सरकारले निरन्तरता पाउनेछ । गण्डकीमा केही दिनमै एमाले सरकारमा सामेल हुने नेताहरुले बताएका छन् । मन्त्रालय भागबन्डा लगायतको विषय टुंग्याउन दुवै दलका तीन तीन जना नेतालाई समेटेर कार्यदल पनि बनाइएको छ । सो कार्यदलको बैठक आज साँझ बस्नेछ ।
लुम्बिनीमा एमालेका आचार्य गत साता लुम्बिनीले पनि नयाँ मुख्यमन्त्री पाईसकेको छ । जोखबहादुर महरा नेतृत्वको सरकार ढलेसँगै लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका छन् । दलका नेता लिला गिरीलाई पन्छाउँदै आचार्य मुख्यमन्त्री बनेका हुन् । उनको सरकारमा एमालेका ४ र कांग्रेसका ४ मन्त्री सहभागी छन् । थप एक मन्त्री कांग्रेसले पाउनेछ । कर्णालीमा कँडेलकै सरकार कर्णाली प्रदेशमा तत्काल सत्ता फेरिनेछैन् ।
हाल मुख्यमन्त्री रहेका यामलाल कँडेलकै सरकारले निरन्तरता पाउनेछ समझदारी बनेको छ । सोही अनुसार आजमात्र कांग्रेस सरकारमा गएको छ । दोस्रो चरणमा कांग्रेसले सरकारको नेतृत्व लिने अनौपचारीक समझदारी जुटेको स्रोतको भनाइ छ ।




