काठमाडौं । अर्थमन्त्रालयसहित चार मन्त्रालय पाएपछि कांग्रेस मधेश प्रदेश सरकारमा सामेल सहभागी हुने भएको छ । मधेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ मन्त्रालय आफ्नो पार्टीले राख्ने अडान राखेपछि मधेशमा सरकारमा सहभागि नहुने कांग्रेसले जनाएको थियो । कांग्रेसले मागेको मन्त्रालाय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो ।
कांग्रेस मधेशका प्रमुख सचेतक कुमरकान्त झाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका थिए । कांग्रेसले चाहेको मन्त्रालय पाएसँगैँ कांग्रेस सांसद सुनिल यादव अर्थमन्त्री बन्ने निश्चित भएको छ । जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव उर्जा, सिचाई तथा खानेपानी मन्त्री र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री पाएका छन् ।
स्रोतका अनुसार मधेशमा मन्त्रालयको जिम्मेवारीमा सहमति जुट्न नसक्दा केन्द्रबाट नै कांग्रेसलाई अर्थमन्त्रालय पिहत चाहेको मन्त्रालय दिनुपर्ने पत्र पुगेको थियो । मुख्यमन्त्रीले आजै कांग्रेसका मन्त्री नियूक्त गर्ने तयारी गरेका छन् ।




