
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा पछिल्लो समसामयिक राजनीतिकाबारे छलफल हुने उनले बताए । त्यस्तै, बैठकमा केन्द्रीय समिति बैठक, भातृ संगठनका पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ । ‘हिजो १५ गतेबाट भातृ संस्थाको म्याद सकिएको छ । अरु समसामयिक राजनीतिकाबारेमा पनि छलफल भइहाल्छ,’ उनले भने ।
यसैबीच सभापति देउवाले सत्तारुढ मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार दिउँसो झण्डै तीन घण्टा छलफल गरेका थिए । सो छलफल लगत्तै देउवाले आइतबार बैठक बोलाएका हुन् ।