राजनीति

के छलफल भयो प्रधानमन्त्री दाहाल- ओली र रविबीचको भेटवार्तामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आइतबार सत्तारुढ दुई दलका नेताहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार दिउँसो उनीहरूबीच झण्डै दुई घण्टा कुराकानी भएको हो । शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच चलेको तीन घण्टा लामो छलफलको पृष्ठभूमिमा यो भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच अहिलेकै सत्ता गठबन्धनलाई टिकाएर लैजानेबारे कुराकानी भएको प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

उनकाअनुसार राजनीतिक दलका नेताहरूबीच भेटघाट हुँदैमा विश्वासको वातावरण नबिग्रिने विषयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच समझदारी बनेको छ । ‘सत्तापक्ष र प्रतिपक्षका नेताहरूबीच भेटवार्ता हुनु सामान्य कुरा हो, सत्ता बाहेक अरू पनि राजनीतिक एजेण्डाहरू हुन्छन्,’ दाहालले भनिन्, ‘बाहिर चर्चा भए जस्तो यो गठबन्धन छोड्ने या नयाँ गठबन्धन बनाउने भन्ने केही पनि कुरा भएको छैन ।’

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको संवादको उत्तरार्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि पुगेका थिए। लामिछाने सहितको संवाद पनि गठबन्धनलाई थप बलियो बनाउने भन्ने बारेमा केन्द्रित रहेको उनको भनाइ छ ।

शनिवार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटे्को विषयमा पनि सामान्य कुराकानी भएको बताइएको छ । शनिवार सभापति देउवा र ओलीबीच बालकोटमा भेटवार्ता भएको थियो । जसकारण पनि सत्ता समीकरणमा फेरबदल हुन लागेको आशंका गरिएको छ ।

तर अध्यक्ष ओली अस्वस्थ भएका कारण देउवा भेटघाटका लागि गएको बताइएको छ । प्रधानमन्त्री दाहालसँग भेटपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने बताए । प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि नियमित प्रक्रिया भएको प्रतिक्रिया दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *