राजनीति

असार मसान्तसम्म पार्टीका सबै निकायलाई पूर्णता दिने विषयमा कांग्रेसभित्र गृहकार्य जारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले असार मसान्तसम्म पार्टीका सबै निकायलाई पूर्णता दिने विषयलाई निकै तिव्रताका साथ काम गरिरहेका छन् । गत बुधबार पार्टी सभापति देउवाको निवास बुढानीलकण्ठमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र मुख्यसचिव पौडेलबिच पार्टीका निकाय र भ्रातृ संस्थाको महाधिवेशनबारे छलफल भएको थियो ।

कांग्रेसमा पार्टीका ७० वटा विभागमध्ये अहिलेसम्म १८ विभाग मात्र गठन भएका छन् । बाँकी १७ विभाग मध्ये केहीमा १० सदस्य मनोनीत गरिएको र बाँकी काम अझै बाँकी रहेकाले अपूर्ण रहेका संगठनलाई पूर्णता दिनकै लागि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा गृहकार्यमा जुटेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मुख्यसचिव पौडेलका अनुसार सभापति र महामन्त्रीको उक्त कार्यमा नेता रमेश लेखक र मुख्यसचिव पौडेलले सहयोग गरिरहेका छन् ।

५२ सदस्यीय विभागमा रहेने व्यवस्था भएपनि अहिलेसम्म प्रचार विभाग बाहेकमा १० जनाभन्दा बढी मनोनीत हुन सकेका छैनन् । १६८ सदस्यीय केन्द्रीय समितिमा २ र ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा ८ जना सदस्य मनोनीत बाँकी रहेको मुख्यसचिव पौडेलले बताए ।

१४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष चयन भएको छैन् । कोषाध्यक्ष पद २५ महिनादेखि रिक्त छ । सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट आएका छन् । महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था विधानमा छ । फागुन २१ मा सत्ता समीकरण भत्किएर प्रतिपक्षमा पुगेपछि कांग्रेस अहिले पार्टीको नियमित काम कारबाहीमा केन्द्रित भएको छ । मुख्यसचिव पौडेलले असारभित्रै पार्टीको केन्द्रीय समिति बैठक बस्ने तयारी भएको बताउँदै बैठकअघि नै पार्टीका सबै निकायलाई पूर्णता दिने गृहकार्य जारी रहेको उल्लेख गरे ।

७० वटै विभागलाई पूर्णता दिएर पार्टीलाई क्रियाशील बनाएर नयाँ कार्यक्रमका साथ जनतामाझ लैजाने कांग्रेसको तयारी छ । ‘पार्टीका निकायसँगै भ्रातृ संस्थालाई पनि महाधिवेशन उन्मुख गराउने कांग्रेसको तयारी गरेको छ भने विभिन्न ३६ देशमा भएका कांग्रेसका जनसम्पर्क समितिेलाई समेत अधिवेशन गराउन निर्देशित गर्ने कांग्रेसको तयारी रहेको पौडेलले जानकारी दिए

कांग्रेसका १३ वटा भ्रातृ संस्था मध्ये नेविसंघ, तरुण दल, महिला संघ, नेपाल दलित संघ, किसान संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल ठाकुर समाज लामो समयदेखि तदर्थ समितिकै रुपमा संचालनमा रहेको उनको भनाइ छ । भ्रातृ संस्थालाई गत पुस १२ देखि १४ गतेसम्म भएको कांग्रेस केन्द्रीय समितिको बैठकले २०८१ असार १५ भित्र महाधिवेशन सम्पन्न गर्ने म्यान्डेट दिएको थियो । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बाहेकका भ्रातृ संस्था महाधिवेशन गराउन असफल भएपछि कांग्रेसले पार्टीका नेतालाई जिम्मेवारी दिन लागेको मुख्यसचिव पौडेलले जानकारी दिए ।

‘अब पार्टीका नेताहरूको नेतृत्वमा १० वटै भ्रातृका लागि ३–३ सदस्यीय समन्वय समिति बनाउने कुरा भएको पौडेलले बताए । महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आगामी केन्द्रीय समिति बैठकले महाधिवेशन गर्न नसकेका भ्रातृ भङ्ग गर्ने–नगर्ने ठोस निर्णय लिने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *