राजनीति

आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैनः महामन्त्री थापा

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन्।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश (१)ले शनिबार आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

‘पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्णरुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ,’ उनले भने।

महामन्त्री थापाले असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत् छलफल गरिने बताए। उनले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे।

‘निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशील सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ,’ उनले भने। उनले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण २०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गरे।

पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ थियो। महामन्त्री थापाले केन्द्रमा कांग्रेसको सरकार नभएपनि ३३२ स्थानीय तहमा कांग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गरे। ‘कांग्रेस केन्द्रमा प्रतिपक्षमा छ, हामी प्रतिपक्षमै बस्नुपर्छ, सरकारलाई ठीक ठाउँमा उभ्याउने काम कांग्रेसको हो,’ उनले भने।

उनले आगामी निर्वाचनअघि संविधानमा भएका केही कुराहरू संशोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे। ‘प्रदेशहरू अदालतबाट चल्दै आएको अवस्था छ, प्रदेश र केन्द्रका मन्त्रीहरू घटाउनुपर्छ, संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्छ,’ महामन्त्री थापाले भने।

उनले नेता तथा कार्यकर्तालाई नागरिकसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरे।पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौंको सङ्गठन बलियो हुँदा देशभरको पार्टी सङ्गठन बलियो हुने बताए। ‘काठमाडौंको सङ्गठनले देशभरलाई दिशानिर्देश गर्न सके पार्टी मजबुत बन्छ,’ उनले भने। भ्रष्टाचारविरुद्ध कांग्रेस सशक्त भएर उभिनुपर्ने उनको भनाइ छ ।

नेता पौडेलले जनताका विषयलाई एजेण्डा बनाएर कांग्रेस अगाडि बढ्नुपर्ने बताए। ‘एजेण्डामा धनी पार्टी नै लोकप्रिय हुन्छ, हामीले कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ,’ नेता पौडेलले भन्नुभयो। क्रियाशील सदस्य वितरण शैलीमा कांग्रेसले परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ थियो। नेता पौडेलले कलङ्की-चाबहिल चक्रपथ क्षेत्रलाई चाँडो निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण समेत गराए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *