काठमाडौँ । टी–२० विश्वकपमा समुह डीको अन्तिम खेलमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ । नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो । यससँगै बंगलादेश सुपर आठमा पुगेको छ ।
१ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । नेपालको लागि कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए ।
किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुदै एक सय ६ रन बनाएको थियो ।
बंगलादेशका लागि शाकिब अल हसनले सर्वाधिक १७ रन बनाएका थिए । मोहम्मदुल्लाह र रिसाद होसेनले समान १३ रन बनाउदा जाकेर अलीले १२ रन जोडे । त्यस्तै, ओपनर लिट्टन दासले १० रनको योगदान दिए ।
नेपालको लागि स्पिनर सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै एक मेडेन राख्दै मात्र १७ रन खर्चिएर २ विकेट लिएका थिए ।यससँगै लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेका छन् ।
सोमपाल कामीले ३ ओभर बलिङ गर्दै १० रन मात्र खर्चिएर२ विकेट लिएका थिए । कप्तान रोहित पौडेलले पनि ४ ओभर बलिङ गर्दै २ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीले ३।२ ओभर बलिङ गर्दै २२ रन खर्चर २ विकेट लिए ।
यस नतिजासँगै बङ्गलादेश समूह ‘डी’ को उपविजेता बन्दै सुपर आठमा पुगेको छ । यस्तै समूहमा अपराजित दक्षिण अफ्रिका लगातार चार खेल जित्दै आठ अङ्कसहित शीर्षस्थानमा रह्यो । दक्षिण अफ्रिका एक खेल अगावै सुपर आठमा पुगेको थियो ।
नेपाल र बङ्गलादेशबीचको नतिजाले नदेरल्यान्ड्स पनि विश्वकपबाट बाहिरियो । श्रीलङ्का र नेपाल यसअघिनै बाहिरिएका थिए । यससँगै जारी विश्वकपमा सुपर आठको समिकरण पनि पूरा भएको छ । नेपाल यसअघि दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो ।
नेपाल अमेरिकाको डालासमा भएको विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । यस्तै फ्लोरिडामा तय भएको नेपाल र श्रीङ्काबिचको दोस्रो खेल भारी वर्षाका कारण रद्द भएको थियो ।




