देश

ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै घरका चारको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा बिहीबार राति पहिरोमा परी एकै घरका चार जनाको ज्यान गएको छ । करिब २०० मिटर माथिबाट खसेको पहिरोले घर बगाउँदा गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बूका बुबा रामबहादुर साम्रा, आमा जसमाया लिवाङ र बहिनीहरू गंगा र जमुनाको मृत्यु भएको वडाध्यक्ष भूपेन्द्र चौलागाईंले जानकारी दिए ।

वडाध्यक्ष चौलागाईंका अनुसार बिहीबार राति १ः३० बजेतिर उनीहरू सुतिरहेको समयमा पहिरो गएको थियो । उपाध्यक्ष लिम्बू भने गाउँमै रहेको अर्को घरमा बस्दै आएका थिए । खेजेनिमकै गढिडाँडामा पहिरोले स्थानीय युगेन साम्राको घर पुर्दा उनी र उनी छोरी घाइते भएका छन् । दुवैलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको वडाध्यक्ष चौलागाईंले जानकारी दिएका छन् ।

फक्ताङलुङ गाउँपालिकामा विगत तीन दिनखेखि नै अविरल वर्षा भइरहेको उनले बताए । सिंवा प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगिसकेको र तथ्याङ्क संकलनको काम भइरहेको जनाइएको छ । यसअघि सिसेवा र सिस्ने खोलामा आएको बाढीले बिहीबार चार वटा अस्थायी पुल तथा उत्तरतर्फ जोड्ने सडक अवरुद्ध बनाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *