काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएका छन् । गण्डकीमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दल नेता पाण्डे गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ जना सांसद छन् । गण्डकीमा बहुमतका लागि ३१ जना सांसदको साथ चाहिन्छ । सभापति देउवाले शुक्रबार राप्रपा अध्यक्ष लिङ्देनलाई पठाएको पत्रमा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत माग गरिएको छ ।
‘प्रदेशको नीति तथा कार्यक्रम, बजेट निर्माणको संवेदनशील समय भएकोले मुख्यमन्त्री पाण्डेले यही जेठ २८ गते प्रदेश सभाबाट विश्वास मत लिन लागेको विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वास मत प्रदान गरी सहयोग गर्नका लागि अनुरोधसहित कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु,’ सभापति देउवाले लिङ्देनलाई पठाएको पत्रमा भनिएको छ ।
मुख्यमन्त्रीले लिने विश्वास मतले गण्डकी प्रदेशमा देखिएको अस्थिरता अन्त्य गर्ने र दलहरूका बीचमा नयाँ विश्वास तथा सहकार्यको वातावरण बन्नेछ भन्ने कुरामा कांग्रेस विश्वस्त रहेको सभापति देउवाले पठाएको पत्रमा उल्लेख रहेको स्रोतले जानकारी दिएको छ । सर्वोच्च अदालतले दिएको परमादेशअनुसार विशिष्ट परिस्थितिमा कांग्रेस संसदीय दल नेता पाण्डे गण्डकी मुख्यमन्त्री बनेको पनि देउवाले पत्रमा उल्लेख गरेका छन् ।
दुई सांसद रहेको राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका खण्डमा पनि अझै बहुमतका लागि दुई सांसद आवश्यक पर्ने देखिन्छ । दीपक मनाङ्गे र फणिन्द्र देवकोटाको साथ लिएर मुख्यमन्त्री पाण्डे विश्वास मत लिने तयारीमा रहेको चर्चा छ ।




