![](https://www.sankalpakhabar.com/wp-content/uploads/2024/01/Ramesh_12024-01-10-05-10-19_1000x617_50.webp)
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्ता पक्ष सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो आरोप लगाएका हुन् ।
उनले सरकार संसदीय समिति बनाउन तयार भएपनि आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको बताएका हुन् । उनले संसदीय समितिको नाममा झारो टार्ने काममा सरकार लागेकाले ढिला भएको उनले बताए ।
उनले भने ‘हामीले भनेको समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्ने कुरा पनि उल्लेख गरेर जाउँ। जोखिमयुक्त, संकटग्रस्त सहकारीका बारेमा पनि बोलेर जाउँ, त्यसका सँगसँगै सहकारीबाट विभिन्न व्यक्ति, निजी कम्पनीमा रकम अपचलन, हिनामिना, दुरुपयोग भएको छ। त्यसमा उपप्रधान एवं गृहमन्त्रीकै नाम जोडिएकाले काँग्रेसले मुद्दा उठाएको छ, सर्वत्र कुरा उठेको छ भने के हो यसको बारेमा पनि छानबिन गरेर जाउँ भन्ने हो। उहाँहरूको कुरा जिम्मेवारपूर्ण आएन।’
प्रमुख सचेतक लेखकले काँग्रेस आफ्नो मागबाट पछि नहट्ने स्पष्ट गर्दै गृहमन्त्री माथि संसदीय समिति बनाउने बारेमा सहमति जुट्न नसकेको बताए । संसदीय समितिको कार्यादेशमा गृहमन्त्रीमाथि छानबिन गर्ने बारे सहमति जुट्न नसक्दा संसदको बैठक प्रभावित भएको छ ।