काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीलाई विश्वासको मत दिन एमाले तयार भएको छ । मुख्यमन्त्री सोडोरीेले बिहीबार विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री सोडारीले एमालेको अवरोधका कारण यसअघि दुई पटकसम्म विश्वासको मत लिन सकेका थिएनन् । उनले तेस्रो पटक विश्वासको मत लिने तयारीमा जुटेपछि एमाले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन तयार भएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने विषयमा निष्कर्षका लागि संसदीय दलको बैठक बस्नेछ । वैशाख ६ गते एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र एक सांसदको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जेठ ४ गतेसम्म उनले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोडारीले एक दिनअघि नै विश्वासको मत लिने तयारी गरेका हुन् ।
सोडारीले विश्वासको मत पाए लगत्तै सरकार विस्तार हुनेछ । अहिले सुदूरपश्चिम प्रदेश सरकारमा सोडारी सहित नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री र नाउपाकै टिका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् । माओवादी र एमाले भने सरकार बाहिर छ ।
सुदूरपश्चिम प्रदेशमा ५३ सांसद छन् । सोडारीले बहुमतको लागि २७ मत पाउनु पर्छ । एमालेका ११, माओवादीका सभामुख बाहेक १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र एक सांसद छन् । नाउपाभित्रको आन्तरिक द्वन्द्ध सकिएको छैन् । अहिले सुदूरपश्चिम प्रदेश सरकारमा नाउपामा रेशम पक्षमा सांसदहरू सरकारको विपक्षमा छन् । यस्तै रन्जिता पक्षमा २ सांसदले सरकारमा सहभागिता जनाइसकेका छन् ।