काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि निष्पक्ष छानबिनका लागि सरकार पछि हटेको बताउँदै संसदीय समिति गठन नगरेसम्म संसद बैठक चल्न नदिने निष्कर्ष निकालेको छ । सरकारले कांग्रेसको माग सम्बोधन गर्न नसकेपछि हिँउदे अधिवेशनको अन्त्य गर्दै स्थगित गरेको संसद बैठक बजेट अधिवेशनका लागि शुक्रबारलाई बोलाएको थियो । उक्त बैठकमा सहकारी प्रकरणका दोषी गृहमन्त्रीलाई सरकारले बचाउने उदेश्यका साथ संसदीय समिति गठन गर्ने विषयमा कांग्रेसको मागलाई उपेक्षा गरेपछि कांग्रेसले संसद बैठकमा अवरोध जनाउँदै यस्तो निष्कर्ष निकालेको हो ।
प्रतिनिधिसभाको बैठक शुरु भएपछि सभामुखले आफ्नो धारणा राखेपछि कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गर्दै बैठक अवरुद्ध गरेको हो । बैठकमा कांग्रेसका महामन्त्री गगन थापाले संसदमा सांसदका प्रश्न निमोठिने तयारी गरेको देख्दा अचम्म लागेको टिप्पणी गरे ।
उनले संसदीय समिति गठन नगरेसम्म संसदको कुनैपनि कारवाही अगाडी बढाउन नदिने घोषणा गरे । संसदमा बोल्दै महामन्त्री थापाले सहकारीको ठगीका सम्बन्धमा संसदले छानबिन समिति बनाओस् भन्ने आफुहरुको एक मात्र विषय भएको बताए । उनले किन डराएको भन्दै कहिले प्रहरी महानिरीक्षकलाई बोल्न लगाएको भन्दै महान्यायाधिवक्तालाई दुरुपयोग गरिएको समेत बताए ।
महामन्त्री थापाले प्रधानमन्त्रीले गृहमन्त्रीलाई क्लिन चिट दिएर संसदमा झुट बोलेको उल्लेख गर्दै रवि लामिछानेले माग फारम भरेर ऋण लिएको प्रमाण बोकेर संसदमा आएको बताए ।




