काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको भएको छ ।
गत चैत्र २५ गते एमाले संसदीय दलका नेता अधिकारीले एमाले, माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । संवैधानिक व्यवास्था अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । सोही अनुसार अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री अधिकारीले सभामुखलाई गणना गरेर दाबी पेस गरेपछि निवर्तमान मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सर्वोच्च अदालतले वैशाख १७ गते खारेज गरिदिएपछि मुख्यमन्त्री अधिकारीका लागि विश्वासको मत लिने बाटो खुलेको हो ।
गण्डकी प्रदेशमा राप्रपाको दुई सांसद छन् । राप्रपाले अधिकारीलाई विश्वासको मत नदिने बुझिएको छ । राप्रपाले समर्थन नगरे अधिकारीले विश्वासको मत लिन असमर्थ देखिएको छ । गठबन्धनका नेताहरुले सर्वोच्चको व्याख्या अनुसार ३० सांसदको समर्थनमा विश्वासको मतका लागि प्रयाप्त हुने उल्लेख गरेका छन् । उक्त विषयमा कांग्रेस नेताहरुले विश्वासका मतका लागि ३१ जनाको समर्थन आवश्यक रहने दावी गरेका छन् । विश्वासको मत लिँदा बहुमतका लागि ३१ जनाकै समर्थन तर्कमा छन् ।




