काठमाडौं । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटिएको छ । नेपालका नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले करिब ३ अर्ब रकम तिर्न बाँकी रहेकाले भारतीय इन्टरनेट सेवा प्रदायकले नेट काटेको स्रोतले जनाएको छ ।
इन्टरनेट सेवा प्रदायक आइस्पानका अध्यक्ष सुधिर पराजुली बिहीबारबाट भारतीय सेवा प्रदायक एयरटेलले नेट काटेको जानकारी दिए । भारतीय सेवा प्रदायक एयरटेलले एक्कसाी नेट काटेपछि देशभरका इन्टरनेट सेवा अवरुद्ध भएको छ । । अहिले नेट काटिएकाले प्रयोगकर्ताहरु मारमा परेको उनीहरुले सामाजिक संजालमा गुनासो सेयर गरिरहेका छन् । अहिले देशभरका वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतका सेवा अवरुद्ध भएका छन् । तर नेपाल टेलिकमको इन्टरनेट सेवा भने सुचारु नै रहेको अधिकारीहरुले बताएका छन् ।
सेवा प्रदायकहरुले इन्टरनेट काटिनुको जिम्मा सरकारले लिनुपर्ने बताउँदै आएका छन् । उनीहरुका अनुसार भुक्तानी दिन सरकारी प्रक्रिया अवरोध भएपछि भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी गर्न नसकिएको सेवा प्रदायकहरुले बताएका छन् । तर नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले रोयल्टी र ग्रामीण दूरसञ्चार कोषको शुल्क १० वर्षदेखि राज्यलाई नबुझाएको भन्दै सञ्चार मन्त्रालयले रकम भुक्तानी गर्न बारम्बार निर्देशन दिदैँ आएको थियो ।




