काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोडबाट बरामद एक किलो ८ सय ग्राम सुन र डेढ करोड रकमसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ । शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद सुन र रकमसहित पक्राउ परेकाहरूलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तीन भारतीय नागरिक र चार जना नेपाली रहेका छन् छन् । पक्राउ पर्नेमा भारतीय नागरिकहरू अमुल विभूति, ऋषिकेश विभूति, गणेश बाल्टे रहेको प्रहरीले जनाएको छ । त्यसैगरी पक्राउ पर्नेमा झापा बिर्तामोडका ३० वर्षीय दिनेश खरेल, सोही स्थानका २२ वर्षीय भरतराज खरेल, दार्चुलाका २१ वर्षीय आयुष बडू र सोही स्थानका ४७ वर्षीय गणेशदत्त बडु रहेका छन् ।




