राजनीति

टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश, शेर्पा र चौधरी धरौटीमा छुट्ने

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो । उक्त प्रकरणमा उनका छोरा सन्दीप रायमाझी भने यसअघि नै धरौटीमा रिहा भैसकेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएपछि अदालतले एक जनालाई साधारण तारेखमा राख्न आदेश दिएको छ । यस्तै अदालतले दुई जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । शमशेर मियाँलाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ भने आङटावा शेर्पा र गोविन्द कुमार चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । शेर्पालाई ३० लाख रुपैयाँ र चौधरीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिइएको हो।

रायमाझीसहित टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा इन्द्रजित राई, सानु भण्डारीलाई भने थुनामै राख्न आदेश भएको छ । उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि रायमाझीसहितका प्रतिवादीहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरेका हुन् । सर्वोच्चले यसअघिका जिल्ला र उच्च अदालतले गरेको आदेश सदर गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *