राजनीति

कांग्रेसले औपचारिक रुपमा सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । सुदूरपश्चिमको सरकारका मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बिहान बसेको संसदीय दलको बैठकले नाउपाका मुख्यमन्त्रीका उम्मेदवार लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक विक्रम धामीका अनुसार नाउपाका लक्षमण किशोरलाई समर्थन गर्ने निर्णय भएको हो । कांग्रेस–नेकपा एकीकृत समाजवादीको समर्थनमा लक्ष्मणकिशोरले आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सोमबार कांग्रेसले लक्ष्मणकिशोरलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो ।

नाउपाकै रञ्जिता श्रेष्ठ चौधरी पक्षले सुदूरपश्चिमको मुख्यमन्त्रीमा कैलाश चौधरीलाई अघि सारेको छ । कैलाशले पनि आइतबार नै एमाले–माओवादी र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।एउटै पार्टीबाट दुई जनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले कुनै निर्णय गरेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *