
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी बचतकर्ताहरुको अर्बो रकम हिनामिना भएपछि निष्पक्ष छानबिनका लागि कांग्रेस संसदमा आवाज उठाउँदा सरकारले तानशाही प्रवृतिबाट सहकारी प्रकरणमा मुछिएका आरोपित बचाउन हिउँदै अधिवेशन अन्त्य गरेको बताएका छन् । सभापति देउवाले अहिलेको सरकार सहकारी पीडित र सुशासनको पक्षमा नरहेको भन्दै सरकारलाई सोही विषयमा कुरा उठाउन सांसदहरुलाई समेत निर्देशन दिए ।
आइतबार बसेको संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् । गृहमन्त्री लामिछानेसहित सहकारी प्रकरणमा मुछिएकाहरुको संसदीय छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर्न कांग्रेसले बारम्बार कुरा उठाउँदा समेत सरकार चुप लागेर बसेको र कांग्रेसको माग सम्बोधन गर्न नसक्दा संसद नै बन्द गरेको भन्दै सभापति देउवाले अहिलेको सरकार सहकारी पिडितको पक्षमा उभिन नसकेको बताए ।
गृहमन्त्री लामिछानेले सहकारी पिडितलाई आँफू पिडित नभएको बताउँदै सहकारी पिडितको हिनामिना भएको रकम उठाइदिने उक्त रकम हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याएर दोषीलाई कारबाही गर्ने बताएपनि अहिले सम्म गृहमन्त्री लामिछानेले सहकारी प्रकरणका विषयमा कुनै पनिअनुसन्धालाई अगाडी बढाउन निर्देशन दिएका छैनन् ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली सहित नेपाल प्रहरी प्रमूखले नै सहकारी प्रकरणमा रवि लामिछाने निर्दोष रहेको बताउँदै रबिको बचाउ गरेका छन् ।
यस्तै केही दिन अघिदेखि राप्रपाले पनि सहकारी प्रकरणमा मुछिएकाहरुलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने आवाज उठाउँदै आएको छ । राप्रपाले नागरिकले सुरक्षितसँग सहकारीमा राखेको रकम डुबेपछि अहिले नागरिकहरुमा निराशा छाएको बताउँदै सहकारी बचतकर्ताहरुको फसेको रकम उठाउन सरकारले काम गर्नुपर्ने आवाज उठाएपनि सरकार मौन छ ।