राजनीति

राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे विजयी भएकी छन । नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी भने उनीसँग पराजित भएकी छिन् । राष्ट्रिय सभाको उपाध्यक्षका लागि भएको मतदानका क्रममा उपस्थित ५५ जनामध्ये ३९ जनाले घिमिरेको पक्षमा मतदान गरेका थिए । उनको विपक्षमा नेपाली कांग्रेससहित १६ सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका थिए। पुडासैनीको प्रस्तावमा मतदानका क्रममा ५५ जना राष्ट्रिय सभा सदस्य उपस्थित थिए। यस्तोमा पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको छ।

राष्ट्रिय सभाको अध्यक्षमा यसअघि फागुन २९ गते नेकपा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भइसकेका छन्। सत्तारूढ पाँच दलका शीर्ष नेताको सहमतिअनुसार घिमिरेलाई एमालेले उम्मेदवार बनाएको थियो। घिमिरेको पक्षमा माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ सहित ३९ सांसदले मतदान गरेका छन्।

घिमिरे एमाले केन्द्रीय कमिटी सदस्यसमेत हुन्। घिमिरेले राष्ट्रिय सभामा कपिलवस्तुबाट प्रतिनिधित्व गर्छिन्। उनी २०७६ माघ ९ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा तत्कालीन प्रदेश ५ बाट विजयी भएकी थिइन्। उनले त्यसबेला नेकपाको तर्फबाट ८ हजार तीन सय ३८ मत ल्याएकी थिइन्। उनीसँग भिडेकी नेपाली कांग्रेसकी उम्मेदवार गिरिजादेवी न्यौपानेले ३२८८ मत ल्याएकी थिइन्। यसअघिकी उपाध्यक्ष उर्मिला अर्यालले गत चैत १६ गते राजीनामा दिएपछि रिक्त उक्त पदका लागि बुधबार निर्वाचन भएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *