देश

हस्पिटेक इन्टरप्राइजेजका मालिक पण्डितसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा अनियमितता गरेको कसुरमा व्यापारी विशाल पण्डितसहित ६ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कोशी प्रादेशिक अस्पतालका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयू) उपकरण खरिदमा अनियमितता भएको बुझिएको थियो । कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई खरिदको जिम्मा दिइएको थियो । पण्डित कोभिडको बेलामा पनि मेडिकल सामग्री खरिदका क्रममा विवादमा आएका थिए । आयोगले दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ बराबरको बिगो मागदाबी लिएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार स्वास्थ्य निर्देशनालयका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, होस्पीटेक इन्टरप्राइजेज प्रालि तीनकुनेका बजार व्यवस्थापक मनोजकुमार आचार्यलाई पनि प्रतिवादी बनाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तियारले सबै जनालाई पण्डित सरह भष्टाचार निवारण ऐन, २०५९ अनुसारको कसुरमा मागदावी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *