राजनीति

प्रधानमन्त्री प्रचण्ड र ओलीबिच गठबन्धनका विषयमा फरक मत

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेससँगको सत्तागठनबन्धन विघटन गरेर नेकपा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी पाटी र माओवादी केन्द्रसहित पाँच दलिय गठबन्धन गर्दै मन्त्रिपरिषद विस्तार गरिसकेका छन् । अहिले बनेको पाँच दलीय गठबन्धनको सरकारमा पनि विवादित व्यक्तिलाई सरकारमा सामेल गराएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ । एकल बहुमतको सरकारको अभावमा पाँच दलिय गठबन्धनका साथमा सरकार बनेपछि सत्तामा आएको समीकरण पछि प्रदेश सरकारका विषयमा किचलो छ । अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डको भेटघाट निकै बाक्लो छ ।

अहिले प्रधानमन्त्री प्रचण्ड र ओलीबिच चलिरहेको गठबन्धन विवादको विषय धेरै नेता तथा कार्यकर्ताहरूलाई प्रस्ट रूपमा थाहा छ । अहिले प्रधानमन्त्री प्रचण्डले पाँच दलिय गठबन्धनलाई फरक तरिकाले परिभाषित गरेका छन् । प्रधानमन्त्री प्रचण्डले वामपन्थी शक्तिलाई एकै ठाउँ ल्याउने लक्ष्यका साथ नेकपा एमालेसँग सहकार्य गरेर गठबन्धन गरिएको बताउँदै आएका छन् । माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले केही समयअघि पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै वामपन्थी शक्तिलाई मिलाएर लाने र अहिलेको गठबन्धनलाई लामो समयसम्म टिकाउने लक्ष्य रहेको बताएका छन् । तर एमाले अध्यक्ष ओलीले सत्तासमिकरणका लागि मात्र माओवादीकेन्द्रसँग एमालेले गठबन्धन गरेको बताएका छन् । पाटीका आ–आफ्नै छुट्टै कार्यक्रमहरू रहेकाले प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनलाई गरेको परिभाषालाई एमालेले स्वीकार्न नसक्ने एमाले अध्यक्षको भनाइ छ ।

यस्तै एमाले महासचिव शङ्कर पोखरेलले पनि एमालेको समग्र ध्यान मिसन ०८४ तर्फ भएको, बलियो राष्ट्रिय शक्ति बनाउनका लागि आफ्नो विरुद्धको घेराबन्दी तोड्नै पर्ने आवश्यकतामा केन्द्रित भएको उल्लेख गर्दै आएका छन् । सबै राजनीति दलहरू अहिले आगामी निर्वाचनमा पाटीलाई बलियो बनाएर लैजाने दिशामा लागेका छन् ।

वास्तवमा गठबन्धन अहिले कुनै पनि दलमा सरकार गठनका लागि बहुमत नपुग्ने भएकाले साना दलहरूसँग मिलेर सरकार बनाउने र निर्वाचनमा पाटीलाई बलियो बनाउन सहयोग पुग्ने उद्देश्यका साथ गठबन्धन गरिएको छ । यही गठबन्धनका कारण राजनीति दल अहिले पाटीमा विभिन्न गुट र उपगुटका कारण राजनीति वृत्तमा असन्तुलन आएको हो । फुटेका पाटीहरू एक ठाउँमा आउने हो भने एकल बहुमतको सरकार गठनमा समस्या आउदैन्थ्यो ।

०७४ असोजमा एमाले–माओवादीले वाम गठबन्धन बनाएपछि दुई तिहाइ निकट प्रतिनिधिसभा सिटका साथ अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए । यस्तै वर्ष ०७५ जेठ ३ मा त दुई पार्टीबिच एकता हुन पुगेको थियो । नेकपा बनेको केही समयमै अन्तर्विरोध चुलिँदै कालान्तरमा प्रतिनिधिसभा विघटन र पार्टी विभाजन हुन पुगेपछि नेकपा एमालेबाट बाहिरिएर पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्को पाटी सञ्चालनमा ल्याएपछि अहिले नेकपा एमालेमा पनि एकल बहुमत ल्याउने पाटीको क्षमता छैन । अहिले कुनै पनि पाटीले निर्वाचनमा एकल बहुमत ल्याएर निर्वाचन जित्ने क्षमतामा नभएका कारण पाटीभित्र द्वन्द्व अवस्था सिर्जना हुनका साथै नेपालको राजनीतिले स्थायित्व पाउन नसकेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *