काठमाडौ । राष्ट्रियसभाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।
राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहेका उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरिन्।
त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो । दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी भए भने एक सांसद तटस्थ बसेका थिए । कुल ५९ सदस्यीय हुने सो सभामा हाल ५८ सदस्य कायम छन् ।
दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।
सभाका नवनिर्वाचित अध्यक्ष दाहाललाई बधाई दिँदै उपाध्यक्ष अर्यालले कार्यकालको सफलताको कामना गरिन् ।
नेपाली कांग्रेसका उम्मेदवार शर्मालाई अध्यक्ष पदमा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रस्ताव गरेका थिए भने काँग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंहले समर्थन गरेका थिए ।
राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइसमेत हुन् । उनको कार्यकाल चार वर्षको रहेको छ । २०७८ मा दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए । सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।
चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि राजनीतिक दलमा सक्रिय रहेका छन् । त्यसअघि उनी २०२७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी २०५७ सालदेखि माओवादीका केन्द्रीय सदस्य छन् ।
सभाको अर्को बैठक यही फागुन ३० गते बुधबार १ बजेर ९ मिनेटमा बस्नेछ ।




