काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभामा तेस्रो पटक विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री यादवलाई विश्वासको मत दिनका लागि आज दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाइएको छ । नेपाल संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आइतबार दिनको २ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयका निमित्त सचिव अरूण कुमार झाले सूचनामा उल्लेख गरिएको छ ।
जसपा संसदीय दलका नेता यादव सुरुमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर सत्ता गठबन्धन परिवर्तन भएर एमाले सरकार छाड्यो र कांग्रेस सरकारमा सहभागी भयो । एमाले सरकार छाडेपछि मुख्यमन्त्री यादव दोस्रो पटक विश्वासको मत लिएका थिए ।
आज उनी तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । जनमत पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएपछि उनलाई पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । पहिलो र दोस्रो पटक पुरा सदनले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो । कांग्रेस र एमाले प्रतिपक्षमा रहेका बेला पनि उनी विश्वासको मत पाएका थिए । मधेश प्रदेशमा १०७ सांसद छन् । एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा दोधारमा छ ।
मुख्यमन्त्री यादवको कार्यशैलीप्रति सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसका सांसदहरू असन्तुष्ट भएपनि मुख्यमन्त्री यादवलाई सत्तारुढ सबै दलले विश्वासको मत दिने भन्ने कुरा बाहिर आएको छ ।





