काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विधान अधिवेशनमा मस्यौदा विधान पेश गरेका छन् । प्रज्ञा भवनमा जारी बैठकमा मस्यौदामाथि छलफलका लागि २० समूह गठन गरेको छ ।
अधिवेशनमा लगभग १२ सयको वरिपरी सहभागीता जनाएका छन् । तीन दिनसम्म संचालनमा आउने अधिवेशनमा माओवादी केन्द्रले पाटी कमिटीलाई सानो र व्यवस्थित तरिकाले संचालन गर्ने जनाएको छ । अध्यक्ष प्रचण्डले बैठकमा प्रत्यक्ष निर्वाचनमार्फत पार्टीको सबै कमिटी निर्माण गर्ने प्रस्ताव पेस गरेका छन् ।
प्रचण्डले प्रस्ताव पेश गर्दै वर्तमान परिस्थितिमा प्रत्यक्ष निर्वाचित कमिटी नै सहयोगी बन्न सक्ने र जनवादी अभ्यासलाई पनि विर्सन नहुने बताए । केन्द्रीय समिति र विभिन्न स्तरको समितिको निर्वाचन कसरी गर्ने र कस्तो अपनाउने भन्नेमा बहस चलेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले हरेक विषयको अनुभव भएको भन्दै सबैस्तरको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नै गर्न आवश्क औँल्याए ।
उनका अनुसार प्रत्यक्ष निर्वाचन प्रणाली स्थानीय, प्रदेश र केन्द्रीय तहको पनि प्रत्यक्ष गर्नुपर्ने हुन्छ । समावेशी प्रतिनिधित्वका बारेमा प्रधानमन्त्री प्रचण्डले न्यायोचित ढङगबाट अगाडी बढाउनुपर्ने बताए । केन्द्रीय समिति निर्वाचित गरिसकेपछि पनि केही निश्चित प्रतिशत कोटा राख्ने कुरा आजै बसेको पदाधिकारी बैठकमा पनि भएको र सोअनुसार १० प्रतिशत सहवरणको प्रावधान राख्ने उनको प्रस्ताव थियो । यसबारे अन्तिम निर्णय गर्ने टुङ्गो विद्यान अधिवेशनलाई दिएको प्रधानमन्त्ती प्रचण्डको भनाइ छ ।
प्रचण्डले केन्द्रीय समितिले पदाधिकारी छनोट गर्ने प्रस्ताव गर्दै जनवादी केन्द्रीयता कम्युनिस्ट पार्टीको संगठतात्मक सिद्धान्त भएको बताउँदै जनवादी केन्द्रीयताको ब्याख्यामा अझ वृहत बनाउनुपर्ने उल्लेख गरे ।



