२०५० पछि एमालेका धेरै नेता प्रधानमन्त्री भए । मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी ओली प्रधानमन्त्री बने । अन्य एकचोटि प्रधानमन्त्री बन्दा ओली दुईपटक प्रधानमन्त्री भए । प्रधानमन्त्री नखाए पनि एमाले पटकपटक सरकारमा गइसकेको छ ।
जनवादी नेता मदन भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी मन्त्री बनिन् । दुईपटक राष्ट्रप्रमुखको भूमिका पनि निर्वाह गरिन् । दुर्घटनामा परेर मदन भण्डारीको २०५० जेठ ३ गते मृत्यु भयो । नेपालले एउटा जनवादी नेता गुमाएको पनि ३१ वर्ष लाग्यो । भण्डारीले दुर्घटनामा ज्यान गुमाए, तर चालक अमर लामा भने जोगिए । त्यतिबेलै आमसर्वसाधारणलाई आशंका भइसकेको थियो, यो दुर्घटना नभई हत्या हो । यो विषयमा अहिले पनि सर्वसाधारणले प्रश्न उठाइरहेका छन् । मदनलाई कसले मार्न लगाए ? यो कुरा थाहा भएका अमर मात्र थिए । अमर त्यो घटनामा न घाइते भए, न उनलाई कुनै क्षति पुग्यो ।
गाडीबाट हाम्फालेका उनले कसैको निर्देशमा सो काम गरेको त्यतिबेलै प्रस्ट भइसकेको थियो । अमर पछि जेल गए । जेलबाट निस्किएपछि उनले मदनलाई मार्नमा क–कसको हात छ ? भण्डाफोर गर्छु भनेर धम्की दिए । त्यति बोल्नेबित्तिकै दिउँसै उनको अपहरण भयो । काठमाडौंको कालिकास्थानमा हिँड्दै गरेका उनलाई अपहरण गरेर दिउँसै गोली हानेर मारियो ।
अमरलाई कसले मारेको हो ? अहिलेसम्म सार्वजनिक भएको छैन । यो कुरा भित्रभित्रै दबाइएको छ । त्यतिबेला मुलुकमा जनयुद्ध चलिरहेको थियो । यदि माओवादीले मारेको रहेछ भने स्वीकार्नुपर्यो । अन्य पार्टीले मारेको भए पत्ता लगाउनुपर्यो । नेपाल प्रहरी यो विषयमा किन मौन छ ?
अमर मर्नेबित्तिकै मदनको मृत्यु प्रकरण गुमसुम भयो । मदन एमालेका नेता थिए । तर, उनको मृत्यु प्रकरणमा एमाले किन बोल्दैन ? सर्वसाधारणले ‘दालमा केही कालो भएको’ शंका गरेका छन् । एमाले बारम्बार सरकारमा गयो । मदनकै श्रीमती दुईपटक देशको राष्ट्रपति बनिन् । तर, कसैले यसको अनुसन्धान अघि बढाउन चाहेनन्, किन ? सर्वसाधारणले त शंकाको सुइँ एमालेतर्फ लगेका छन् । मदन र अमर नेपाली नागरिक थिए । उनीहरूको बाँच्ने अधिकार खोसियो । यद्यपि, सरकारले अहिलेसम्म ‘अपराधी’ समात्न सकेको छैन ।
मदन र अमरलाई मार्ने व्यक्ति को हो ? यसको छानबिन हुनुपर्छ । अहिले प्रधानमन्त्रीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । प्रचण्डले नेतृत्व गरेको जनयुद्धकै क्रममा अमरको हत्या भएको हो । कि त प्रचण्डले अमर माओवादीले मारेको हो भनि स्वीकार गर्नुपर्यो, नत्र ‘अपराधी’ पत्ता लगाउनुपर्यो ।
प्रचण्डले अब मदनको ‘अपराधी’ खोज्ने प्रक्रिया अघि बढाउनुपर्छ । राजनीतिक दलहरूलाई ‘अपराधी’ को हो ? भन्ने कुरा थाहा छ । तर, उनीहरू एकअर्काको जोगाउनमा छन् । अमरको हत्यारा समातिनेबित्तिकै मदनलाई मार्न लगाउनेको नाम खुलिहाल्छ । प्रहरीले मान्छे मारेर फरार भएको व्यक्तिलाई दशकौंपछि पनि समात्छ । अहिले पनि २०–२५ वर्षपछि ज्यान मार्ने व्यक्तिहरू पक्राउ गरेको खबर बाहिर आइरहेको हुन्छ । प्रहरीले उनीहरूले कहाँबाट समातेर ल्याउँछ । तर, मदन र अमरको घटनामा त अहिलेसम्म दोषी नै पत्ता लाग्न सकेका छैनन् । यसमा ठूलै चलखेल भएको कुरा घामजस्तै छर्लंग छ ।
राजनीतिक आडमा ‘अपराधी’ लाई लुकाइएको स्पष्ट छ । हरेक वर्ष मदनलाई सम्झिने गरिन्छ । उनी जति नेपालीमाझ भिजेका थिए, त्यति नै अन्तर्राष्ट्रियस्तरमा पनि लोकप्रिय थिए । विदेशीले त उनको विषयमा चासो राख्छन् भने नेपालीले न नराख्ने कुरै भएन । नेताहरूले मदन भण्डारीको बारेमा लामो भाषण गर्छन् । तर, उनको ‘हत्यारा’ खोज्ने चासो देखाउँदैनन् ।
सरकार नालायक साबित भएको अर्को काण्ड हो, ‘दरबार हत्याकाण्ड’ । उक्त हत्याकाण्डमा राजा वीरेन्द्रको पूरा परिवार नै सखाप भयो । घटना घटेको २२ वर्ष बितिसकेको छ, तर सरकारले दोषी पत्ता लगाउन सकेन । देशको ‘राजा’ सहित उनको पूरा परिवारको हत्या हुनु सामान्य कुरा होइन र हुनपनि सक्दैन ।
यस्तो गम्भीर विषयमा समेत सरकार मौन छ । त्यतिबेला दरबार र राजाको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको थियो । तर, सेना त चुक्यो । आफ्नै राजा त बचाउन सेनाले सुरक्षा गर्न सकेन भने देशको के सुरक्षा गर्छ ? वीरेन्द्रको सन्तान सकिएपछि ज्ञानेन्द्र राजा भए । यद्यपि, उनले पनि आफ्नो दाइको हत्यारा खोज्नमा चासो देखाएनन् । २०५८ जेठ १९ गतेभन्दा पछाडि धेरै नेता प्रधानमन्त्री भए । तर, राजा मारेको विषयलाई तिनले हलुका लिए । राजा वीरेन्द्रको हत्यारा नेताहरूले सार्वजनिक गर्न सकेनन् कि चाहेनन्, यो त तिनलाई थाहा होला ।
जनता आज पनि मदन भण्डारी र राजा वीरेन्द्रको हत्यारा खोजिरहेका छन् । नेपालमा विभिन्न तहका सुरक्षा निकाय छन् ।
जनताले तिरेको करबाट तलबभत्ता खाने र सेवासुविधा लिने कार्य मात्र सुरक्षाकर्मीले गरिरहेका छन् । नेपाली सेना, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नु लज्जास्पद छ । जनता अहिलेसम्म शंकामै छन् । सत्यतथ्य के हो ? सरकार सार्वजनिक गर्दैन । सर्वसाधारणको शंका एमाले र भूपूराजा ज्ञानेन्द्रतिर छ । अब सरकारले ‘अपराधी’ को हो ? जनतासामु ल्याउनुपर्छ ।
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दरबार हत्याकाण्डको छानबिन गर्ने घोषणा गरेका छन् । तर, यो उनको घोषणामै सीमित हुने निश्चित छ । यसअघि पनि उनले दरबार हत्याकाण्डको छानबिन हुने बताएका थिए । प्रचण्ड बोल्छन, काम गर्ने त्यस्तै हो । दरबार हत्याकाण्डको दोषी पत्ता लगाउनलाई आँट चाहिन्छ । यो आँट अहिलेका नेताहरूमा देखिँदैन ।
देशमा नागरिक समाज छ, विद्यार्थी संगठन छ, मानव अधिकारकर्मीहरू छन् । सरकारले गरेको कुनै निर्णय चित्त बुझ्ेन भने यिनीहरू सडकमा ओइरिहाल्छन् । आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप वा लाठीचार्ज मात्र गर्यो भने यिनीहरू नेपाल बन्दको घोषणा गर्छन् । सडकमा टायर बाल्छन् । तोडफोड गर्दै हिँड्छन् । एमालेको आफ्नै भ्रातृसंगठन छ । तर, सो संगठन पनि यस विषयमा मौन छ । मदनको हत्यारा सार्वजनिक गर्न एमालेकै भ्रातृसंगठ न त तातेको छैन । विद्यार्थी संगठन होस् या नागरिक समाज, यिनीहरूको उद्देश्य चर्चामा आउने र माथि जाने मात्रै हो ।
घरभित्र अंशबण्डाको कुरा नमिल्दा दाजुले भाइ र भाइले दाजुलाई मारेको घटना पनि छन् । अब यो त राजनीतिक खेल भयो । बुढापाका भन्छन्, ‘एउटा नबिग्रिकन अर्को सप्रिँदैन ।’ मदन र राजा वीरेन्द्रको हत्या प्रकरणमा पनि त्यही नै भएको देखिन्छ । विडम्बनाको कुरा के छ भने जनताले स्पष्ट देखेका छन्, तर सरकारमा बस्नेहरूले देख्दैनन् ।




