राजनीति

अर्थमन्त्री महत र परराष्ट्रमन्त्री साउदको लोकप्रियतासँग प्रचण्डलाई डर

काठमाडौं । देशको आर्थिक स्थिति अहिले पनि ट्रयाकमा आइसकेको छैन । जनार्दन शर्मा अर्थमन्त्री हुँदा ध्वस्त भएको अर्थतन्त्र उकास्न अर्थमन्त्री डा.प्रकाशशरण महतलाई निकै सकस भएको छ ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा विदेशमा ल्याएको खर्र्बाै ऋणको भार र जनार्दनले बिगारेको अर्थतन्त्र एक वर्षमै सुधार हुने अपेक्षा कसैले गरेका थिएनन् । महत अर्थमन्त्री भएको १० महिना मात्र भएको छ । त्यसअघि एमालेका विष्णु पौडेल तीन महिना अर्थमन्त्री बनेका थिए । बिग्रेको अर्थतन्त्र ट्रयाकमा ल्याउन महतले बजेट निकै टाइट ढंगले ल्याएका थिए । जसको प्रभाव आर्थिक वर्षको दोस्रो चौमासिकमा देखिन थालेको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत नेपालको अर्थतन्त्रले विस्तारै लय समात्न लागेको जनाइसकेका छन् । विश्व बैंकले नेपालको अर्थतन्त्र ५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकले समेत अर्थतन्त्रमा सुधार देखिँदै गएको जनाएको छ । अर्थतन्त्र सही ट्रयाकमा आएको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन परेको छैन ।

प्रधानमन्त्री भएर पनि आर्थिक मितव्ययिता अपनाउन नसकेका प्रचण्ड अहिले अर्थमन्त्री महतको लोकप्रियतासँग डराएका छन् । सोही कारण उनले आफूलाई असुरक्षित ठानेको संकेत देखिएको छ । जुनसुकै हालतमा अर्थमन्त्री महत हटाउनुपर्छ भनेर प्रचण्ड लाग्नुलाई कांग्रेसमा राम्रो मानिएको छैन । प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालयका कर्मचारीहरूलाई एउटा सन्देश प्रवाहित गरेका छन् । त्यो सन्देश हो– मन्त्रिमण्डल पुनर्गठन हुन्छ, अर्थमन्त्री फेरिन्छन्, त्यसैले अर्थमन्त्रीले भनेको नमान्नु ।

प्रधानमन्त्री निकटहरू अहिले अर्थमन्त्री फेरिने हल्ला जोडसँग चलाइरहेका छन् । बाहिर हल्ला जे पनि चल्न सक्छ, तर जब प्रधानमन्त्रीकै सेरोफेरोबाट हल्ला चल्छ, त्यसपछि मन्त्रीलाई काम गर्न अप्ठेरो हुन्छ । अर्थमन्त्री महतलाई आजकाल कर्मचारीतन्त्रबाट पूरै असहयोग भइरहेको बुझिन्छ । अर्थमन्त्री फेर्ने प्रधानमन्त्री प्रचण्डको प्रयास लगभग खुलेआम सतहमा आइसकेको छ । हटाइन लागेका अर्थमन्त्रीलाई कसले टेर्ने ? प्रधानमन्त्रीकै कारण अर्थमन्त्री महतलाई कर्मचारीतन्त्रले असहयोग गरिरहेको छ । त्यही भएर बुधबार कानुनमन्त्री धनराज गुरुङले तत्काल मन्त्रीहरू नफेरिने सन्देश सार्वजनिक गरेको अनुमान गरिएको छ ।

प्रचण्डले सकेसम्म बल लगाएर परराष्ट्रमन्त्री एनपी साउदलाई असफल बनाउन लागिरहेका छन् । कांग्रेसले कामै नलाग्ने परराष्ट्रमन्त्री र अर्थमन्त्री दिएको प्रचण्डले भित्र बाहिर सन्देश सार्वजनिक गरेका छन् । नेपालको पछिल्लो समय परराष्ट्र सम्बन्धमा सुधार आएको छ । चीन, भारत, अमेरिका, बेलायतलगायतका मुलुकले नेपाललाई हेर्ने दृष्टिकोणमा फरक पाएका छन् । अझ पश्चिम एसियाका देशहरूले अहिलेका परराष्ट्रमन्त्री साउदसँग राम्रो सम्बन्ध विस्तार गरेका छन् । इजरायल–प्यालेस्टाइन युद्धमा घटनास्थल नै पुगेर मन्त्री साउदले नेपालीको उद्धार गरेर ल्याएका छन् । यसले पनि प्रचण्डलाई चिढ्याएको छ । त्यही भएर अहिले प्रचण्डले आफैले मन्त्रिमण्डल पुनर्गठन गर्ने भनेर आफ्ना मन्त्रीहरूलाई काम गर्न नसक्ने वातावरण बनाइरहेको विश्लेषण गर्न थालिएको छ ।

‘प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्न सकियो भने कांग्रेसभित्र विग्रह हुन्छ र आफू बलियो बनिन्छ भन्ने ठान्नुभएको हुनसक्छ,’ कांग्रेसका एक नेता भन्छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्ने हो भने हल्लाखल्ला नगरी गर्न सक्छन् । मन्त्रिमण्डल पुनर्गठनको संवैधानिक एकाधिकार प्रधानमन्त्रीलाई प्राप्त छ । प्रधानमन्त्रीको त्यो विशेषाधिकारमा कानुनी रूपमा कतै पनि प्रश्न उठाउन सकिँदैन । त्यो विषेशाधिकार हुँदाहुँदै प्रचण्डले ‘मन्त्रिमण्डल पुनर्गठन गर्दैछु’ भनेर हल्लाखल्ला गर्नुलाई राम्रो मानिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *