काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चार दिने भारत भ्रमणपछि मंगलबार स्वदेश फर्केका छन् । उनी एकाएक शनिबार भारतको नयाँ दिल्ली पुगेको थिए । भारतमा रहँदा उनले एक दुई ठाउँमा रास्वपाको प्रवास कमिटीको कार्यक्रममा सम्बोधन पनि गरे । तर उनको भारत भ्रमणको विषयलाई लिएर नेपालमा अनेक शंका अशंका उब्जेको छ ।
स्रोतका अनुसार सहकारी घोटाला काण्डमा मुछिएपछि फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) लाई भेट्न रवि भारत पुगेका हुन् । जिबी अहिले भारतमा रहेको नेपाल प्रहरीले पनि अनुमान गरेको छ । मलेसिया हुँदै उनी भारत आइपुगेको बताइन्छ । जिबी मलेसियामा रहँदा रवि पनि त्यहीँ पुगेका थिए । मलेसियामा रवि र जिबीबीच लामो छलफल भएको समाचार आइसकेका छन् । अहिले एक्कासि रवि भारत पुग्नुलाई पनि त्यही अनुमान गरिएको हो ।
एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र नेता मानिने महेश बस्नेतले पनि आफूलाई सोही खालको सूचना आएको सार्वजनिक गरेका छन् । बस्नेत गोप्य सूचना प्राप्त गर्ने सीमित एमाले नेतामा पर्छन् । बस्नेतले सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले प्रहरीमा आत्मसमर्पण गर्न खोजेपछि रास्वपा सभापति रवि लामिछाने आफ्नो पोल खुल्ने डरले छटपटीमा रहेको बताएका छन् । मंगलबार एक रेडियोसँगको कुराकानीमा उनले रविको मलेसिया र भारत भ्रमणको उद्देश्य नै जिबीलाई सम्झाउने र आफू सहकारी ठगी प्रकरणबाट बच्ने रहेको दाबी गरे ।
‘रेडकर्नर नोटिस जारी गरेर जिबी राईलाई गिरफ्तारीको कुरा गरिरहँदा मैले प्राप्त गरेको सूचना चाहिँ जिबी राई प्रहरीमा आउने वातावरण बनेको र उनले रविका सबै कर्तुतहरू खोल्दिने कुरा गरेपछि रविको छट्पटाहट भारत, मेलेसियालगायतका भ्रमण जिबी राईलाई सम्झाउने हिसाबले अथवा आफू बच्ने प्रपञ्च रच्ने हिसाबले हो । जिबी राई भारतमै छन् कि भन्ने आकलन गरिएको पनि मैले सुनेको छु,’ बस्नेतले भनेका छन् ।
नेता बस्नेतले रास्वपा सभापति लामिछानेलाई काण्डैकाण्डको महानायकको संज्ञा दिए । रास्वपाभित्र रविलाई विस्थापित गराएर स्वर्णिम वाग्लेलाई अगाडि बढाउनु पर्छ भन्ने बहस सुरु भइसकेको आफूले जानकारी पाएको पनि उनले दाबी गरे । नयाँ र वैकल्पिक शक्तिका रूपमा उदाएका दलहरूको हालत र वर्तमान सत्ता गठबन्धनको मल्टिअग्र्यान फेलियरको अवस्थाले अब मुलुक अर्ली इलेक्सनको दिशामा अगाडि बढेको आफूले अनुभूत गरेको बस्नेतले बताए ।
इन्टरपोलले डिफ्युजन नोटिस जारी गर्नुअघि नै जिबी प्रहरीसमक्ष सरेन्डर गर्न चाहन्थे । तर उनलाई रास्वपाका नेताहरूले तत्काल त्यसो नगर्न दबाब दिएको स्रोतले बतायो ।
केही दिनअघि पत्रकार सम्मेलन गरेर रविले जिबीलाई प्रहरीसमक्ष आत्मसमर्पण गरी सहकारी पीडितको पैसा ब्याजसहित फिर्ता गर्न आह्वान गरेका थिए । सँगैसँगै उनले प्रहरीले किन जिबीलाई अहिलेसम्म पक्राउ नगरेको भन्दै प्रश्नसमेत गरेका थिए । आफ्नो नामको बैंक खातामा सहकारीको एक करोड ८० लाख पैसा जम्मा भएको र कम्पनी रजिस्ट्रारको कार्यालयमा बैंक स्लिप पुगेको सार्वजनिक भएपछि रविले हतारहतार पत्रकार सम्मेलन गरी आफू निर्दोष भएको बताएका थिए । सोही पत्रकार सम्मेलनमा उनले जिबीलाई सहकारीपीडितको रकम ब्याजसहित फिर्ता दिन आग्रह गरेका थिए ।
तर त्यसको एक साता नबित्दै उनी भारत जानुलाई जिबीसँगको हरहिसाब मिलाउन भनी आशंका गरिएको हो । यदि जिबीले एउटा मात्र तथ्य सार्वजनिक गरिदिएमा रविको राजनीतिक भविष्य नै चौपट हुने अवस्था छ । जिबीले तत्काल प्रहरीसामु आत्मसमर्पण पनि नगरुन् र रविबारे केही नबोलून् भन्ने रास्वपाका नेताहरूले चाहेका छन् । त्यही भएर रास्वपाका नेताहरू अहिले जुनसुकै हालतमा जिबीलाई बचाउने पक्षमा लागिपरेको देखिएको छ ।




