राजनीति

किनारामा पारिएपछि नयाँ पार्टी गठनको कसरतमा राजेन्द्र महतो

काठमाडौं । कुनै समय राजेन्द्र महतो नेपाली राजनीतिमा निकै सुनिने नाम हो । धेरैजसो अभिव्यक्तिका कारण महतो चर्चामा आउने गर्छन् । तर एक वर्षअघि सर्लाही २ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपति राजेन्द्र गुमनाम जस्तै छन् । लोकतान्त्रिक समाजवादी पार्टीमा अध्यक्ष महन्थ ठाकुरसँगको बेमेलका कारण पछिल्लो समय उनी पार्टीको बैठकमा जानै छाडेका छन् । कतिसम्म भने उनले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने र आन्दोलनमा जानुपर्ने बताउँदै आएका छन् । तर महन्थले उत्यति चासो देखाएका छैनन् ।

आफूले दिएको सल्लाहलाई महन्थले निरन्तर बेवास्ता गरेपछि राजेन्द्र अहिले नयाँ पार्टी गठनको तयारीमा जुटेका छन् । सोही प्रयोजनका लागि उनी दुई साता लामो भारत भ्रमण पूरा गरेर फर्किएका छन् । भारतबाट फर्किएलगत्तै उनी भेटघाटमा व्यस्त हुन थालेका छन् । नयाँ राजनीतिक शक्ति निर्माणमा जुटेका महतोलाई लोसपाकै युवा नेताहरू केशव झा, अनिल महासेठलगायतले साथ दिइरहेका छन । नयाँ आन्दोलनको विचार र स्वरूप निर्माणका लागि महतोलाई बुद्धछिरिङ मोक्तानले सहयोग गरिरहेका छन् ।

बुधबार काठमाडौंमा ‘गजेन्द्रबाबुको विचार र मधेशको वर्तमान राजनीति’ विषयक अन्तरक्रियामा महतोले मेचीदेखि महाकालीसम्म, हिमालदेखि मधेशसम्म सबैलाई आन्दोलनका लागि तयार रहन आह्वान गरे । उनी केही दिनभित्रै आफ्नो नयाँ अभियान घोषणा गर्ने तयारीमा छन् । गत प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि मूलधारको राजनीतिमा भूमिकाविहीन देखिएका महतोले सार्वजनिक रूपमै आफ्नो पार्टी लोसपालाई ‘लोसे’ भएको टिप्पणी गर्दै आएका छन् । मंसिरको तेस्रो साता आयोजित लोसपाको केन्द्रीय समिति बैठकसमेत बहिष्कार गरेका महतो अब बहुल राष्ट्र राज्य निर्माणको एजेन्डासहित नयाँ आन्दोलनको तयारीमा लागेका हुन् ।

‘उत्पीडनमा परेका सबै जातजाति र समुदाय मिल्नुपर्छ भन्ने गजेन्द्रबाबुको मान्यता थियो,’ उनले भने, ‘उहाँले यसका लागि प्रयास पनि गर्नुभयो, तर शासक वर्गले गर्न दिएनन्  । अधिकार र पहिचानको सवाल बाँकी नै छ । पहिले पहिचान त्यसपछि अधिकार । पहिचान नभएपछि अधिकार कसरी पाइन्छ ? त्यसैले अहिले पनि पहिचानको संघर्ष प्राथमिकतामा रहनुपर्छ । यसका लागि आन्दोलन गर्न तयार हुनुपर्छ ।’

महतो औपचारिक रूपमा लोसपा त्याग नगरी नयाँ अभियान घोषणा गर्ने तयारीमा छन्  । ‘यो देशलाई साझा फूलबारी भनियो, तर एकलजसरी चलाइयो,’ उनले भने, ‘तर, यो एकल जातीय राज्य होइन, यो बहुल राष्ट्रिय राज्य हो । यो मधेशीको पनि हो, जनजातिको पनि हो, थारूको पनि हो, खस–आर्यका पनि हो, सबैको देश हो । यद्यपि, अहिलेसम्म सबैको देश बन्न सकेन । एकल चिन्तन र सोचबाट यो देशको शासन र संविधान बनाइनु र चलाइनु नै यो सबै समस्याको जड हो । अब यसको अन्त्यका लागि आन्दोलनको तयारी गरेका हौँ ।’

मधेसको राजनीतिमा सिके राउत, उपेन्द्र यादव, महन्थ ठाकुर, प्रभु साह चर्चामा छन् । राजेन्द्र भूमिकाविहीन बनाइएका छन् । त्यसैले अहिले चर्चामा आउन उनी नयाँ पार्टीको अभ्यासमा लागेको देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *